विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त
अखबार टुडे
प्रकाशित:
२०७७, १८ आश्विन

काठमाडौं, १८ असोज । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट विदेशमा विभिन्न समयमा संक्रमत नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् ।
संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना संक्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ ।
यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
यस्तै नेपालमा मात्र ८४ हजार ५७० जना कोरोना भाइरसबाट संक्रमित तथा ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५२८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोनाभाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६५६ कोरोना भाइरसबाट मुक्त भएका छन् । संघको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ ।

प्रतिक्रिया