नेता गौतमको मुद्धामा सुनुवाइ बुधबार
अखबार टुडे
प्रकाशित:
२०७७, १६ आश्विन

काठमाडौं, १६ असोज । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दाबारे आगामी बुधबार फैसला हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले शुक्रबार सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा राखेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार निवेदकका तर्फबाट बहस सकिएको छ ।
नेता वामदेवका तर्फबाट तीन जना कानून व्यवासयीले मात्र बहस गर्नुभएको छ । बाँकी बुधबार बहस हुनेछ । यही असोज १४ गतेदेखि संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ शुरु भएको हो । यही असोज ७ गते न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आदेशमा विषयवस्तुको गाम्भीर्यता एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै विषयको अन्तिम टुङ्गो नलागेसम्म थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
‘विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिँदा विपक्षी नं ५ को हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नू, नगराउनु’, आदेशमा भनिएको थियो, ‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) ख बमोजिम विपक्षीका नाममा यो अन्तरिम आदेश जारी गरिएको छ ।’
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मङ्गलबार नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
नेता गौतमलाई राष्ट्रियसभामा गरेको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।

प्रतिक्रिया