यातायातबाट दैनिक २ हजार बढी लाइसेन्स वितरण
अखबार टुडे
प्रकाशित:
२०७७, १६ आश्विन

काठमाडौं, १६ असोज । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले अहिले दैनिक दुई हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ वितरण गर्दै आएको छ ।
छपाई सकेर वितरण गर्न बाँकी झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेकाले ती अनुमतिपत्र वितरण सुरु गरेको हो । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए ।
उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ । प्रदेश सरकारले निर्णय निर्णय नगरेसम्म यो सेवा तत्काल नखुल्ने उनले बताए ।
काठमाडौँ उपत्यकालगायत प्रदेशभर संक्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उनले जानकारी दिए । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो । काठमाडौँ उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ ।

प्रतिक्रिया