वर्षासँगै बाढीपहिरा जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०७७, ३ आश्विन

लमजुङ, ३ असोज । निरन्तर परेको अविरल वर्षासँगै बाढीपहिरा जाँदा बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बेँसीशहर नगरपालिका–६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुंगासहितको पहिराले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सबइन्जिनीयर सुमन अधिकारीले बताए । उनेले भने, ‘तत्काल सडक खुलाउने सम्भावना छैन । यहाँनिर साँगुरो सडक छ, जमीन गलेको छ, सडक तल मस्र्याङ्दी नदीले खोतलेको छ भने माथिबाट पहिरा खस्ने गरेको छ ।’
सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिराले करीब २० मिटर सडक भासिएको थियो भने केही भागमा ढुङ्गामाटोले सडक ढाकेर अवरुद्ध भएको थियो । सडक भासिएपछि सोही भिरको कुनापट्टिको भाग खोतलेर बुधबार साँझबाट सडक पुनः सञ्चालन भए पनि सोही स्थानमा आज पुनः पहिरा खसेपछि सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया