कोरोना कहर : विदेशमा मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

लन्डन, २१ भदौं । विश्वव्यापी महामारी कोरोनाभाइरस ९कोभिड– १९० संक्रमणबाट विदेशमा थप ५ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गत स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवबर साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु हुनेको नेपालीको संख्या २ सय पुगेको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा बृद्धि भएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।
हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।
यस्तै नेपालमा मात्र ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्य २७ हजार १ सय २७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ । नेपालमा २ सय ८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपाल सहित जम्मा ४ सय ८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया