जाजरकोटबाट ‘भोकविरुद्ध सहायता अभियान’
अखबार टुडे
प्रकाशित:
२०७७, १९ भाद्र

जाजरकोट, १९ भदौं । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य शुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिएक छन् ।
डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान शुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले जानकारी दिए ।


पहिलो चरणमा शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका १०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । प्रतिपरिवार २५ केजी चामल र पाँच केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाउँपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको डिसहोमका प्रतिनिधि शर्माले बताए । अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाउँपालिका र अरु स्थानीय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाउँपालिका–४ का अस्मिता नेपालीले खुसी व्यक्त गरे । उनले भने, ‘घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताइरहेको थियो । चामल पाएपछि पेट भर्न पाइने भो ।
शिवालय गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर पुन, छेडागाडा–५ का वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनीचाँदेका कार्यवाहक अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गरेका छन् । भोक विरुद्धको सहायता अभियानमा डिस होमले नगद रु दुई लाख सहयोग गरेको छ । सत्कार इलेक्ट्रोनिक्स जाजरकोटका प्रोप्राराइटर वसन्तप्रसाद शर्माले ब्यानर र खानबस्नका लागि रु १५ हजार सहयोग गर्नुभएको छ । जुनीचाँदेको खाद्यान्न ढुवानीको जिम्मा गाउँपालिकाले लिएको थियो ।
जाजरकोटबाट शुरु गरिएको भोकविरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि सञ्चालन गरिने अभियानकर्मी कार्कीले बताए । खान नपाएर कोही पनि मानिस मर्नु नपरोस् भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भने, ‘हामीलाई विभिन्न व्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौँ । हुनेबाट मागेर नहुनेलाई दिने गरी अभियान थालिएको हो ।’

प्रतिक्रिया