हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला
अखबार टुडे
प्रकाशित:
२०७७, १६ भाद्र

लण्डन, १६ भदौं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत ६ मेमा बिहान १०.३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उनको खोजी गरिरहेको थियो ।
ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् ।
यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो ।
रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गर्नुभएको थियो । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो ।

प्रतिक्रिया