
काठमाडौँ । देशका पश्चिमी तथा मध्य तराई क्षेत्रमा आज पनि अत्यधिक गर्मी कायम रहेको छ । जल तथा मौसम विभागको पछिल्लो अपडेट अनुसार सबैभन्दा बढी तापक्रम बाँकेको बैजापुरमा ४०.१ डिग्री सेल्सियस मापन भएको छ ।
त्यस्तै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराईका अधिकांश जिल्लामा अधिकतम तापक्रम ३५ देखि ४० डिग्री सेल्सियस बीच पुगेको देखिएको छ । बाँकेको बैजापुरपछि नेपालगञ्ज, भैरहवा, दाङ, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरीलगायतका तराई क्षेत्र पनि अत्यधिक गर्मीको चपेटामा रहेका छन् ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८ डिग्रीभन्दा माथि पुगेको छ भने गण्डकी र बागमतीका भित्री तथा पूर्वी तराईमा पनि ३४ देखि ३७ डिग्री सेल्सियससम्म तापक्रम पुगेको देखिन्छ । यसको प्रभावले दिउँसोको समयमा उकुसमुकुस गर्मी बढेको छ ।
यता पहाडी तथा हिमाली क्षेत्रमा भने तापक्रम तुलनात्मक रूपमा कम रहेको छ । अधिकांश पहाडी जिल्लामा २० देखि ३० डिग्री सेल्सियस तथा उच्च हिमाली क्षेत्रमा २० डिग्रीभन्दा कम तापक्रम मापन विभागले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनहरूमा विशेषगरी पश्चिम तराईमा अत्यधिक गर्मी रहने सम्भावना औँल्याउँदै अनावश्यक रूपमा लामो समय घाममा नबस्न, प्रशस्त पानी पिउन, हल्का तथा सूती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीले विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
