
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारका प्रस्तावक र समर्थकका लागि केन्द्रीय निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ ।
आयोगले महाधिवेशन अन्तर्गत कार्यतालिका अनुसारको निर्वाचन प्रक्रियामा पार्टी सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य समेत सबै पदका लागि उम्मेदवारी मनोनयन फारम दर्ता गर्ने क्रममा प्रस्तावक र समर्थक सम्बन्धी जारी गरिएका नियम पालना गर्न आग्रह गरेको छ ।
आयोगले उम्मेदवारको प्रस्तावक र समर्थकका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ, जुन यस प्रकार छ:
१- पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र ५१ ( एकाउन्न ) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ ।
२- पार्टी पदाधिकारी र पार्टी केन्द्रीय सदस्यका उम्मेदवारहरुले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र २१ (एक्काइस) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ ।
३- कुनैपनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकको रुपमा हस्ताक्षर गर्न पाइने छैन ।
४- कुनैपनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा हस्ताक्षर भने गर्न पाइनेछ ।
५- कुनैपनि उम्मेदवारका प्रस्तावक वा समर्थकको रुपमा हस्ताक्षर गर्ने पार्टी सदस्यको नाम महाधिवेशन प्रतिनिधिको सुचीमा अनिवार्य हुनुपर्ने छ भने, कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक आफू स्वयं उम्मेदवार बन्न पाइने छैन ।
साथै आयोगले उल्लेखित नियम विपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने सम्बन्धित सबै उम्मेदवार तथा प्रतिनिधिहरुलाई स्पष्ट गरेको छ ।
