महोत्तरी । पाँच दिनदेखि चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।
निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताउनुभयो । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् ।
जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ । चिसोले हाट बजारमा चहलपहल घटेको छ । चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताए ।
चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरु बताउँछन् । जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ । जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन् । जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताए ।
के हो शीतलहर ?
तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।
प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ । शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ । शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ । जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ ।
शीतलहरबाट जोगिने उपाय
शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ । यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ । स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ ।