डेंगी संक्रमितको संख्या ११ हजार नाघ्यो, ८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २५ श्रावण

काठमाडौं । नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको छ ।

हालसम्म नेपालका ७४ जिल्लामा डेँगी फैलिएको छ । जसमा हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा हालसम्म संक्रमितको संख्या ६ हजार ३०० पुगिसकेको छ ।

गत वर्ष काठमाडौँ डेंगीको हटस्पटमा बनेको थियो । तर, यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापकरुपमा फैलिरहेको छ ।
त्यस्तै, मोरङ जिल्लामा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासबामा १४८ र तनहुँमा ७९ वटा केशहरु पाइएका छन् ।

प्रादेशिक तथ्यांकअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ भने वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन् ।

दैनिक रुपमा डेंगी संक्रमण फैलिइरहेपनि त्यसको नियन्त्रणमा सरकार तथा सम्बन्धीत निकायले प्रभावकारी रोकथामको प्रयास गरिएको छैन ।

प्रतिक्रिया