संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत, प्रधानमन्त्रीले चित्तबुझ्दो प्रष्टिकरण दिनुपर्ने
अखबार टुडे
प्रकाशित:
२०८०, २४ असार

काठमाडौं, २४ असार । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले प्रतिनिधिसभाको अवरोध आजदेखि हटाउने सहमति गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले संघीय संसद्को अवरोध खुलाउन सहमति गरेका हुन् ।

गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा मागसमेत गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ । प्रधानमन्त्रीले सो अभिव्यक्तिबारे सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने जनाइएको छ । सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने बताइएको छ ।

सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग संवाद गर्न आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले आग्रह गरेका थिए । सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थिए ।

प्रतिक्रिया