बेलायतका मन्त्रीहरुमा राजीनामाको लहर, जोनसनद्वारा पूर्व रुसी गुप्तचरलाई भेटेको स्वीकार
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

लन्डन, २३ असार (एजेनसी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा रहेका विभिन्न मन्त्री तथा सांसदहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

पछिल्लो २४ घण्टामा कम्तिमा ३८ जना विभिन्न कनिष्ठ मन्त्री तथा मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका सांसदहरूको राजीनामा र अविश्वासको पत्रको ‘बाढी’ आएको हो ।

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले उनीहरुले राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वको विरोध गर्दै अर्थमन्त्री र स्वास्थ्यमन्त्री राजीनामा दिएका थिए । बेलायतका अर्थमन्त्री ऋषि सुनकले आफ्नो राजीनामा पत्रमा सरकारलाई ‘सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्नुपर्ने’ बताएका थिए । यस्तै, स्वास्थ्यमन्त्री साजिद जाविदले पनि जोनसनको नेतृत्वको विरोध गरेका थिए ।

आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ । उनको कन्जरभेटिभ्स पार्टीभित्र र बाहिरबाट जोनसनको राजीनामा माग गरिएको छ । द गार्डियनका अनुसार जोनसन भने जस्तोसुकै परिस्थिति आए पनि अन्तिमसम्म लड्ने रणनीतिमा छन् ।

गृहमन्त्री प्रिती पटेललगायतले उनलाई अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जोनसन त्यसका लागि तयार भएका छैनन् । दुई वर्षअघि भएको चुनावमा लाखौं मतदाताले आफूलाई विश्वास गरेको उल्लेख गर्दै जोनसनले लुसुक्क सत्ता नछोड्ने बताएका छन् ।

उनले बरु वरिष्ठ मन्त्रीहरूको एउटा समूहले प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन सुझाव दिने एक मन्त्रीलाई नै प्रधानमन्त्रीले बर्खास्त गरेको बताइएको छ ।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो । उनले यौन दुराचारको आरोप लागेका सांसद क्रिस पिंचरलाई बढुवा गरेको भन्दै प्रधानमन्त्री जोन्सनको ब्यापक आलोचना भएको छ ।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए । कोरोनाभाइरसको महामारी सुरू भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो । उक्त विषयले बेलायती राजनीतिमा तरंग ल्याएको थियो र छानबिन पनि भएको थियो ।

रुसका पूर्व गुप्तचर अधिकारीसँग भेटेको बेलायती प्रधानमन्त्रीको स्वीकारोक्ति
यसैबीच, प्रधानमन्त्री बोरिस जोनसनले कुनै अधिकारीको उपस्थितिबिना नै आफूले केजीबी (रुसी गुप्तचर निकाय) का पूर्व अधिकारी अलेक्जेन्डर लेबेदेभसँग भेट गरेको सांसदहरु समक्ष स्वीकार गरेका छन् ।

उनले भने, ‘मैले निश्चित रुपमा उनीसँग अधिकारीहरुको उपस्थितिबिना भेट गरेको हुँ, उनीसँग केही पटक भेट गरेको छु ।’ जोनसनसँग सन् २०१८ मा विदेशमन्त्री रहँदा इटलीमा रुसी अर्बपति र इभनिङ्ग स्टेन्डर्डका पूर्व मालिकसँग भेट गरेकोबारे पनि सोधिएको थियो । जवाफमा उनले उनीसँग भेट गरेको स्वीकार गरेका थिए ।

जोनसनले लेबेदेभका छोरा एभजेनीलाई ‘हाउस अफ लर्डस’ को सदस्य बनाएका थिए । यस नियुक्तिलाई लिएर विवाद भएको थियो । ‘द सन्डे टाइम्स’ मा प्रकाशित एक रिपोर्टमा सुरक्षा एजेन्सीहरूले राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भन्दाभन्दै पनि एभजेनीलाई सो पदमा नियुक्त गरिएको उल्लेख थियो ।

सोभियतकालमा केजीबी शीतयुद्धको समय पश्चिमी देशको सुरक्षा एजेन्सीको मुख्य प्रतिद्वन्द्वी थियो । यतिमात्र नभई रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि केजीबीका अधिकारी रहिसकेका छन् । पुटिनका कयौं निकटस्थहरु केजीबीसँग जोडिएका छन् ।

बोरिस जोनसनले लेबर पार्टीकी डेम डियानाको प्रश्नमा भने, ‘जब म लन्डनको मेयर थिएँ, त्यो बेला लन्डन इभनिङ स्टेन्डर्डका प्रोप्राइटरसँग मैले निश्चित रुपमा भेट गरेको थिएँ । जुन समयको तपाईले कुरा गर्नुभयो, म त्यो बेला विदेशमन्त्री थिएँ भन्ने, त्यो हो ।’

प्रतिक्रिया