उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर करोडौं डलर कमाएको दावी, आम्दानीको महत्वपूर्ण स्रोत
अखबार टुडे
प्रकाशित:
२०७८, २४ माघ

काठमाडौं, २४ माघ (एजेन्सी) । उत्तर कोरियाले क्रिप्टोकरेन्सीमाथि साइबर हमला गरी करोडौं अमेरिकी डलर चोरेकोे राष्ट्रसंघको एक गोप्य प्रतिवेदनले जनाएको छ ।

प्रतिबन्धसम्बन्धी स्वतन्त्र अनुगमनकर्ताले तयार पारेको उक्त प्रतिवेदनअनुसार उत्तर कोरियामा साइबर हमला र अवैध व्यापारबाट प्राप्त गरेको रकम नै उक्त मुलुकका लागि आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । उत्तर कोरियाका ह्याकरले वित्तीय संस्था, क्रिप्टोकरेन्सी र यसको विनिमय गर्ने कम्पनीलाई निरन्तर निशाना बनाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

उत्तर कोरियाका साइबर हमलाकारीले २०२० देखि २०२१ को मध्यसम्म उत्तर अमेरिका, युरोप र एसियाका कम्तिमा ३ वटा क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ५० करोड अमेरिकी डलरभन्दा बढी चोरेका थिए, प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को उत्तर कोरियासम्बन्धी समितिसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘कुनै आणविक परीक्षण वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको जानकारी प्राप्त नभएता पनि उत्तर कोरियाले अणु टुक्र्याउन प्रयोग हुने सामग्री (न्युक्लियर फिसाइल मेटेरियल्स) उत्पादन गर्ने क्षमता निरन्तर विकास गरिरहेको छ’ ।

सन् २००६ देखि नै उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाउँदै आएको छ । त्यहाँको आणविक एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि प्राप्त हुने आर्थिक स्रोतलाई दक्षिण गर्दै लगाइएको ती प्रतिबन्धलाई पछिल्लो समय सुरक्षा परिषद्ले थप कडाइ गर्दै आएको छ ।

शुक्रवार अमेरिकाले उत्तर कोरियाले गत महिना मात्र नौ वटा क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । चीन र रुसले भने प्योङयाङका ती परीक्षणहरूको निन्दा गर्ने एउटा विज्ञप्तिमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया