काठमाडौं, २७ पुस । आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने ५७ वर्षीय ‘डेभिड बेनेट’ विश्वका पहिलो व्यक्ति बनेको बीबीसीले जनाएको छ ।
चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ । यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने स्पष्ट भने छैन ।
युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले सुँगुरको मुटु प्रत्यारोपणको प्रक्रिया गर्न विशेष छुट दिएको थियो ।
प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ साथै विश्वभरका मानिसको जीवनलाई परिवर्तन गर्न सक्ने आशा जगाएको प्रतिक्रिया दिएका छन् ।
शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई ‘अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने’ बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।
अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ । त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ ।
सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए । त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो ।
यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन । अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गरेका छन् ।