विश्वव्यापी जल संकटको चेतावनी, सन् २०५० सम्म करिब पाँच अर्ब मानिसले समस्या झेल्नुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

जेनेभा, २० असोज (एजेन्सी) । मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण विश्वमा पानीको संकट तीव्र गतिमा बढ्दै गएको पछिल्लो एक अध्ययनले देखाएको छ।

संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन(डब्लूएमओ) र उसका साझेदारहरुले गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०१८ मा विश्वभर एक महिना पर्याप्त मात्रामा पानीको पहुँच नहुनेको संख्या तीन अर्ब ६० करोड थियो। अहिलेकै अवस्था कायम रहेमा यो संख्या सन् २०५० सम्ममा बढेर पाँच अर्ब पुग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि र त्यसका कारण भएको जलवायु परिवर्तनका कारण विश्वभर पानीसँग सम्बन्धित विपद्का घटनाहरु बढिरहेका बेला पिउन तथा अरु अत्यावश्यक कार्यका लागि चाहिने पानीमा मानिसको पहुँच तीव्र गतिमा कम हुँदै आएको चेतावनी डब्लुएमओ र उसका साझेदारहरुले दिएका हुन्। अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो।

डब्लुएमओका महासचिव पेतेरी तालासले भनेका छन्, ‘तापक्रममा भइरहेको वृद्धिले विश्वव्यापी र क्षेत्रीय रुपमा वर्षामा परिवर्तन ल्याएको छ। जसका कारण वर्षा चक्र र खेती गर्ने मौसममा परिवर्तन आएको छ। यसले प्रमुख रुपमा खाद्य सुरक्षा र मानिसको स्वास्थ्यमा असर पारेको छ।’

‘स्टेट अफ क्लाइमेट सर्भिसेज २०२१ : वाटर’ रिपोर्टका अनुसार सन् २००० यता पानीसम्बन्धी विपद्को दरमा वृद्धि भएको छ। डब्लुएमओको संयोजनमा भएको अध्ययनमा २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार र वैज्ञानिक संस्थाहरुले सहयोग गरेका हुन्।

अघिल्लो दुई दशकको तलुनामा बाढीसम्बन्धी विपद्को संख्या १३४ प्रतिशतले बढेको छ। पूर्वसूचना प्रणाली कमजोर रहेका एसियाली देशहरुमा बाढीसम्बन्धी विपद्का कारण सबैभन्दा धेरै मानवीय तथा वित्तीय क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

अत्यधिक वर्षाका कारण बाढी आउँदा एसियाका नेपालसहित जापान, चीन, इन्डोनेसिया, पाकिस्तान, भारतमा पछिल्लो वर्ष सयौँ मानिसको ज्यान जानुका साथै दसौँ लाख विस्थापित भएको डब्लुएमओ महासचिव तालासले बताए।

उनले भनेका छन्, ‘तर विकासशील देशहरुमा मात्रै बाढीले भौतिक तथा मानवीय क्षति गरेको होइन, युरोपसहितका देशमा पनि बाढीले सयौँको ज्यान लिएको छ भने विस्तारित रुपमा क्षति गरेको छ।’ प्रतिवेदनअनुसार पछिल्लो दुई दशकमा २९ प्रतिशतले खडेरी बढेको छ। खडेरीका कारण बढी मानवीय तथा वित्तीय क्षति हुनेमा अफ्रिकी क्षेत्र रहेको भन्दै प्रभावकारी पूर्वसूचना प्रणालीका लागि जोड दिइएको छ।

महासचिव तालासले भनेका छन्, ‘धेरै देशमा पानीको अभाव चासोको प्रमुख कारणका रुपमा रहने देखिएको छ, विशेष गरी अफ्रिकामा अवस्था गम्भीर बन्ने देखिन्छ। विश्वमा दुई अर्बभन्दा बढी मानिसको बसोबास पानीको अवस्था तनावपूर्ण रहेका देशमा छ। यसले स्वच्छ पिउने पानी र सरसफाइमा पहुँच कमजोर बनेको छ।’

बढ्दै गइएको पानीको संकटलाई लिएर अहिले नै सचेत हुनुपर्ने तालासले बताएका छन्। समस्या समाधानका लागि पानीको व्यवस्थापनलाई सुधार गर्न, पानी र जलवायुसम्बन्धी एकीकृत रणनीति ल्याउन प्रतिवेदनमा आग्रह गरिएको छ।

अहिले भइरहेको प्रयास र लगानीहरु छरिएको र अपर्याप्त रहेको भन्दै तत्काल सहकार्यसहितको एकीकृत कार्यक्रम तथा थप लगानीका लागि आग्रह गरिएको हो। पानीको स्रोतहरुको एकीकृत व्यवस्थापनका लागि एकीकृत लगानीको खाँचो रहेको प्रतिवेदनमा उल्लेख छ।

विशेषगरी पानीको तनावपूर्ण अवस्था रहेका साना टापु विकासशील देश ९एसआइडीएस० र अतिकम विकसित देश ९एलडीसी० मा लगानी गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया