ओली-प्रचण्ड सहकार्यप्रति गोकुल बास्कोटाको कटाक्ष- यो अन्तिम भोज त होइन ?
अखबार टुडे
प्रकाशित:
२०८३, ११ श्रावण

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश सरकारमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सहकार्यप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सत्ता समीकरणका निर्णय केही सीमित नेताबीच मात्र हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बास्कोटाले एमाले र माओवादी केन्द्रले सत्ता समीकरणमार्फत कांग्रेस नेता शेरबहादुर देउवालाई समेत चुनौती दिने अवस्था बनाएको उल्लेख गर्दै प्रदेश सरकारहरू किन बन्छन् र किन भत्किन्छन् भन्ने विषय आम नेता तथा कार्यकर्तालाई समेत जानकारी नहुने परम्परा बसेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्- ‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्किन्छन् ? ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला ? अचम्म लाग्छ ।’

बास्कोटाको यो अभिव्यक्तिलाई प्रदेश सरकार गठन र सत्ता साझेदारीबारे एमालेभित्रकै असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति पछि दुवै दलमा विवाद देखिएको छ ।

प्रतिक्रिया