बुद्धको एउटा एटिआर जहाजको ‘उडान साइकल’ समाप्त
अखबार टुडे
प्रकाशित:
२०८१, २५ भाद्र

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजको उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेपछि विदा गरेको छ ।

नेपाली आकाशमा उडान सुरू गरेको १६ वर्षपछि जहाजको ‘उडान साइकल’ समाप्त भएको हो । ४७ सिट क्षमताको यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो । एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ ।

नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ । नाइन एन–एआइएनले मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ । बुद्ध एयरलइन्सका अनुसार माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्ट रहेका थिए ।

नेपाली आकाशमा ४० हजार उडान साइकलमार्फत उडान गरेको नाइन एन–एआइएन जहाजले नेपाल आउनुभन्दा पहिले ३० हजार उडान साइकल उडान गरेको थियो । १६ वर्षको अवधिमा यो जहाजले ४४ हजार ४७७ पटक उडान गरेको छ भने १८ लाख यात्रुलाइ सेवा दिएको बताइएको छ ।

प्रतिक्रिया