तालिबान सत्तारोहणका तीन बर्ष : ‘इस्लामिक शासन कायम राख्नु सरकारको प्रमुख लक्ष्य’
अखबार टुडे
प्रकाशित:
२०८१, ३० श्रावण

काबुल । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ । नेताहरूको भाषण सुन्न र सैन्य परेड हेर्नका लागि काबुलबाट करिब ४० किलोमिटर टाढा रहेको बेसमा विदेशी कूटनीतिज्ञसहित सयौँ व्यक्ति भेला भएका थिए ।

सन् २०२१ को अगष्ट १५ मा अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिवान सेनाले राजधानी काबुल कब्जा गरेको थियो । यो वर्षगाँठ अफगान क्यालेन्डरमा एक दिन अघि नै मनाइन्छ । दुई दशकदेखि अफगानिस्तानमा अमेरिकी नेतृत्वको अभियानको केन्द्रको रूपमा रहेको अफगानिस्तानको सबैभन्दा ठूलो हवाई अड्डामा भएको कार्यक्रममा वरिष्ठ तालिवान अधिकारीहरू हेलिकप्टरमा पुगेका थिए ।

आफ्नो २० वर्षे विद्रोह अन्त्य गरेको तीन वर्षमा तालिबान सरकारले इस्लामको कडा व्याख्यामा आधारित कानुनहरू लागू गर्दै देशमाथि आफ्नो पकड बलियो बनाएको छ । संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन ।

समारोहको केही दिन अघि, तालिवान कार्यकर्ताहरू काबुल वरिपरि वार्षिकोत्सवको मितिको साथ ‘बधाइ’ लेखिएको ब्यानर र साइनबोर्डहरू टाँस्न व्यस्त थिए । पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताए ।

उनले भने, ‘इस्लामिक शासन कायम राख्ने, सम्पत्तिको रक्षा गर्ने, जनताको जीवन रक्षा गर्ने र हाम्रो राष्ट्रको सम्मान गर्ने जिम्मेवारी तालिबान सरकारको हो ।’ अखुन्दले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ‘यस मितिमा अल्लाहले मुजाहिद राष्ट्र अफगानिस्तानलाई एक अन्तर्राष्ट्रिय घमण्डी र कब्जा गर्ने शक्तिमाथि निर्णायक विजय प्रदान गर्नुभयो’ भनेका थिए ।

राजधानी र तालिबानको आध्यात्मिक अखडा कान्दाहारमा ‘विजयको दिन’को पूर्वसन्ध्यामा थप सुरक्षा व्यवस्था गरिएको छ । तालिवान आन्दोलनको उद्गमस्थल र धार्मिक आदेशमार्फत शासन गर्ने नेता हिबतुल्लाह अखुन्दजादाको घर रहेको दक्षिणी शहर कान्दाहारमा पनि ठूलो सुरक्षा र सजावट गरिएको छ ।

बढ्दो मानवीय संकट

तालिवान अधिकारीहरूको लागि सुरक्षा एक प्रमुख प्राथमिकता रहेको छ र धेरै अफगानी नागरिकले लगातार २० वर्षको द्वन्द्वको अन्त्यमा राहत व्यक्त गरे तापनि अर्थव्यवस्था सङ्कटमा छ र समाजले बढ्दो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी समूहको संयुक्त वक्तव्यमा दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको भन्दै सहायता कोषको खाडल बढ्दै गएको चेतावनी दिइएको छ ।

ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सार्वजनिक जीवनबाट वञ्चित र माध्यमिक तथा उच्च शिक्षाबाट प्रतिबन्धित महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिबान सरकारलाई दबाब दिन आग्रह गरेको छ ।

‘तालिबानले कब्जा गरेको तेस्रो वर्षगाँठ अफगानिस्तानको मानव अधिकार सङ्कटको गम्भीर सम्झना हो, तर यो कार्यको आह्वान पनि हुनुपर्छ’ एचआरडब्ल्यूका लागि अफगानिस्तानका अनुसन्धाता फेरेस्ता अब्बासीले भने । –(एजेन्सी)

प्रतिक्रिया