यस्तो छ राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको पृष्ठभूमि
अखबार टुडे
प्रकाशित:
२०८०, २९ फाल्गुन

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले समर्थन गरेका हुन् ।
बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज शर्माले १७ मत पाए ।

राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए । दाहाललाई माओवादीका सांसद गोपीबहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

यता कांग्रेसबाट उम्मेदवार युवराज शर्मालाई कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखर कुमार सिंहले समर्थन गरेका थिए ।

राष्ट्रियसभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो दलको भूमिकामा रहेको छ । दोस्रो स्थानमा कांग्रेसका १६ सदस्य छन् भने तेस्रो स्थानमा एमालेका १० सदस्य रहेका छन् । चौथो स्थानमा एकीकृत समाजवादीका ८ सांसद छन् भने जसपाको एक सांसद छन् ।

दाहालको पृष्ठभूमि
महानगरपालिकाको भिमसेन नगरका दाहालले यसअघि २०७३ सालमा दोस्रोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रशासनिक सल्लाहकारका रूपमा काम गरेका थिए ।

उनी २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदमा नै सदस्य भएका थिए भने २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । २०५७ सालदेखि माओवादी पार्टीको उनी केन्द्रीय सदस्य छन् ।

राजनीतिक गतिविधिमा २०३६ सालयता पूर्णकालीन कार्यकर्ताका रूपमा उनले काम गरेको संसद् सचिवालयमा उनले बुझाएको विवरणमा उल्लेख छ । त्यसको झण्डै एक दशकअघि अनेरास्वियूको सदस्य भएको उक्त विवरणमा उल्लेख छ । उनले संघीय संसदको लेखा समितिमा चार वर्ष काम गरेका छन् ।

प्रतिक्रिया