मौद्रिक नीतिको त्रैमासिक समीक्षा : रेमिट्यान्स ३० प्रतिशतले वृद्धि (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०८०, २२ मंसिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक त्रैमासिक समीक्षामा रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै, यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको र सिमेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रूपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको हो । खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा बढी चाप परेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षामा भनिएको छ, ‘केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्ध र स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चाप पर्न गएको छ । पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू–राजनीतिक तनावले मूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको छ । तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेकोर नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा रहेको छ ।’

निक्षेप संकलन बोलकबोल दर घट्यो

नेपाल राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दर घटाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् ७.५ प्रतिशत बैंक दरलाई घटाई ७ प्रतिशत, ६.५ प्रतिशत नीतिगत दर घटाएर ५.५ प्रतिशत र ४.५ प्रतिशत निक्षेप संकलन बोलकबोल दरलाई घटाई ३.० प्रतिशत कायम गरेको हो । भने, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

त्यस्तै, नीतिगत व्यवस्थातर्फ पहिलो समीक्षाबाट ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रूपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले आगामी पुस मसान्तससम्म श्रोतको रुपमा शतप्रतिशत गणना गर्न पाउने डिवेन्चरलाई अब पुसपछि डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रूपमा गणना गर्न पाउने भएका छन् ।

प्रतिक्रिया