बिहीबार शोक विदा
अखबार टुडे
प्रकाशित:
२०८०, २६ भाद्र

काठमाडौं, २६ भदौं । नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन् ।

नेता नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसअनुसार नै गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो ।

यस्तै त्यसदिन राष्ट्रिय झन्डा आधा झुकाइने प्रवक्ता शर्माले जानकारी दिए । बिहीबार देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुखसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनी ७१ वर्षका थिए । उनको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिने एमालेले जनाएको छ । त्यसपछि बालुवाटारस्थित निवासमा लगिने छ ।

प्रतिक्रिया