मणिपुरमा दुई महिलालाई सडकमा निर्वस्त्र घुमाइयो, त्यसपछि सामूहिक बलात्कार
अखबार टुडे
प्रकाशित:
२०८०, ४ श्रावण

काठमाडौं, ४ साउन (एजेन्सी) । भारतको हिंसाग्रस्त मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा घुमाएको घटना बाहिर आएको छ । केही महिनादेखि जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो हिजो बुधवार सार्वजनिक भएको हो ।

घटना मे ४ मा घटेको र जुलाई १९ मा बाहिरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भिडियोमा कुकी जातिका दुई महिलालाई मेइती समुदायका पुरुषको समूहले निर्वस्त्र बनाएर सडकमा करिब डेढ किलोमिटर हिँडाएर दुर्व्यवहार गरेको बताइएको छ । उनीहरूले ती महिलालाई कुटपिट गरी अन्तिममा सडक छेउको खेतमा लगेर ‘सामूहिक बलात्कार’ गरेको पनि बताइएको छ ।

मणिपुर प्रहरीका अनुसार घटनामा संलग्न अपरिचित समूहमाथि अपहरण, सामुहिक बलात्कार र हत्याको अभियोगमा मुद्दा चलाइएको बताएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको बताएको छ ।

भिडियोबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले आफू चिन्तित भएको बताएको छ । साथै सरकारलाई यसबारे आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले १४० करोड भारतीयलाई लज्जास्पद बनाएको टिप्पणी गरेका छन् । उनले यस घटनाका दोषीलाई नछोडिने बताए । ‘मेरो हृदय आज पीडाले भरिएको छ, क्रोधले भरिएको छ । मणिपुरको घटना कुनै पनि सभ्य समाजका लागि लज्जास्पद घटना हो । पाप गर्ने कति जना थिए, को थिए, यो आफ्नो ठाउँमा छ । यसले पुरै देशको बेइज्जत भएको छ । १४० करोड भारतीयले लाजले मुख छोप्नुपरेको छ ।’

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले सबै आरोपीलाई मृत्युदण्डको सजाय दिने हर सम्भव प्रयास गर्ने बताएका छन् । सािथै उनले एक जना आरोपी पक्राउ समेत परेको दाबी गरेका छन् ।

मणिपुरमा गत मेदेखि कुकी र मेइतेई समुदायबीच द्वन्द्व चर्किएको छ । मेइती समुदाय मणिपुरको बहुसंख्यक जनसंख्या हो । उनीहरूले लामो समयदेखि सेड्युल्ड ट्राइब (एसटी)को दर्ता माग गर्दै आएका छन् । यसले उनीहरूलाई सरकारी जागिर र शैक्षिक संस्थाहरूमा आरक्षण सिट जस्ता केही फाइदा दिने छ ।

तर, मणिपुरको आदिवासी समूह कुकी समुदायले मेइती समुदायले मागेको एसटी दर्जाको विरोध गरेको छ । मेइती समुदायले सो दर्जा पाएमा कुकी र मणिपुरका अन्य आदिवासी समूहलाई फाइदा नगर्ने उनीहरूको भनाइ छ । करिब तीन महिनादेखि जारी द्वन्द्वमा करिब डेढ सयको ज्यान गएको र हजारौँ मानिसहरू विस्थापित भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया