काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् ।
आज स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मिहिनेत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताए ।
उनले सिद्धान्त र राजनीतिक एजन्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताए ।
उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताए । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको उनले बताए ।
उनले नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताए । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रिपरिषद्मा छलफल गरी मन्त्रिपरिषद्कै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए । उनले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताए ।
उनले गिरिजाप्रसाद कोइराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । साथै प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको पनि बताए ।
उनले राष्ट्रपतिमा प्रस्ताव नगरेका कारण पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लागे पनि त्यस्तो अनुभूति गर्नु नपरेको बताए । कोइरालासँगका प्रतिवद्धता आफूले जस्ताको तस्तै पुरा गर्न नसकेको स्वीकार्दै दाहालले कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने बताए ।
फरक प्रसँगमा प्रधानमन्त्री प्रचण्डले आफूले कम्युनिष्टहरुसँग एकताको कुरा गरे पनि नेपाली कांग्रेसँगको सम्बन्ध नटुट्ने उनले बताए । उनले भने, ‘मैले कम्युनिष्टहरुसँग एकताको कुरा गर्दा नेपाली कांग्रेस तरंगित हुनपर्ने छैन । विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले अहिलेको परिवर्तन भएको हो । त्यसैले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन पर्दैन । सम्बन्ध तत्काल टुट्दैनँ ।’