- हरि गोपाल प्रधान
काठमाडौं, १५ असार । राइट दाजुभाईले पहिलोपटक विमानको प्रदर्शन गरेर गाउँलेलाई देखाउँदा यस यन्त्रले विश्व बजारको महत्वपूर्ण स्थान लिनेछ भन्ने कुरा कसैले सोचेका थिएनन् होला । तर, त्यही यन्त्र विकसित हुँदै जाँदा अहिले प्रत्येक वर्ष करोडौं भन्दा बढी व्यक्ति जहाजमा उड्ने गर्दछन् ।
देशभित्र र बाहिर सबैतिर सुरक्षित, सुव्यवस्थित, सुपथ एवं उचित रूपबाट हवाई यातायात सेवाको व्यवस्था गर्न, हवाई यातायात सेवालाई अधिकतम फाइदा हुने गरी विकसित गर्दै लैजान र यथासम्भव सुपथ भाडादरमा आफ्नो सेवा सुलभ गराउन २०१५ साल असार १७ गते नेपाल वायुसेवा निगमको स्थापना भएको थियो ।
निगमले व्यापारिक लगायत अन्य उद्देश्यले हवाई यातायात सेवा चलाउने, उडान गर्ने र उड्डयनसँग सम्बन्धित सबै प्रकारको काम गर्ने गरेको छ । वायुयानको उडान र तत्सम्बन्धी सबै प्रकारको शिक्षण–प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको सहयोग र सेवा लिने, आफ्नो र अरू विमान कम्पनीको वायुयानको मर्मत–सम्भार गर्ने, अरू कम्पनीद्वारा चलाइएका विमान कम्पनीको सेवासम्बन्धी कुरामा एजेन्ट र ठेकेदार भई काम गर्ने, सम्बन्धित क्षेत्रका अनुभवी संस्था वा व्यक्तिसँग मिलेर हवाईसेवा सञ्चालन गर्न सम्झौता गर्ने, आन्तरिक एवं अन्तर्राष्ट्रिय उडानका लागि सेवाको विकास र विस्तार गर्ने काममा निगम सक्रिय रहेको छ ।
निगमले हालसम्म १४ प्रकारका जहाजलाई आफ्नो उडानका लागि प्रयोग गरेको थियो । ती विमानहरू डगलस डीसी-३ डकोटा, फङ्सु हार्भेस्टर एएन-२, पिलाटस पोर्टर (पीसी-६), फोकर फ्रेन्डसिप (एफ-२७), एचएस ७४८ एभ्रो, ट्विनअटर डीएचसी ६–६००, बोइङ ७२७–१००, बोइङ ७५७–१००, चीनिया विमानहरु वाई १२ ई, एम ए ६०, न्यारो वडी एयरबस ३२०–२०० र वाइडवडी एयरबस ३३०-२०० रहेका छन् ।
सिट क्षमता २८ भएको र निगमले प्रयोगमा ल्याएको पहिलो विमान डगलस डीसी-३ डकोटा थियो । सन् १९७३ सम्म सेवा दिँदै आएका डकोटाहरू त्यसपछि विस्थापित भए । फङ्सु हार्भेस्टर एएन-२ विमान १२ सिटक्षमताको थियो । यसलाई निगमले सन् १९६३ देखि आफ्नो सेवामा लगाएको थियो । छोटो समयको उडान गरी यी विमानहरू सन् १९६५ पछि विस्थापित भए ।
सन् १९६१ मा सेवामा लगाइएको सिङ्गल इन्जिनवाला पिलाटस पोर्टर (पीसी-६) नामक विमानको क्षमता ६ सिट थियो । नेपालजस्तो पहाडी मुलुकका साना विमानस्थलमा उडाउन सकिने यस्तो विमान निकै उपयोगी मानिएको थियो । त्यसबाट सन् १९९८ सम्म सेवा लिइएको थियो । फोकर फ्रेन्डसिप (एफ-२७) विमान सन् १९६६ देखि १९७० सम्म सेवामा लगाइएको थियो । ४४ सिटक्षमता भएको यो विमानबाट त्यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय उडानसमेत गरिएको थियो । सन् १९७० मा यो विमान नयाँ दिल्लीमा दुर्घटनाग्रस्त भएपछि सेवाबाट बाहिरिएको थियो ।
यसैगरी निगमले सन् १९७० मा ४४ सिट क्षमताको एचएस ७४८ एभ्रो विमान आफ्नो सेवामा लगाएको थियो । यसबाट अन्तर्राष्ट्रिय उडानका साथै पर्वतावलोकन उडान पनि गरिएको थियो । सन् २००० मार्चदेखि यस्तो विमान निगमको सेवाबाट बाहिरिएको थियो । सन् १९७१ देखि सेवामा लगाइएका ट्विनअटर डीएचसी ६–६०० विमानहरूले उडानक्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् । १९ सिटक्षमताको यस्तो विमान पहाडी क्षेत्रको कुना कुनासम्म सेवा पु¥याउन सफल भयो ।
अहिले पनि आन्तरिक उडानमा यो विमानको प्रयोग गरिँदैछ । ४ वटा ट्वीनअटरमध्ये २ वटा मात्र चलिरहेको छ । ५ वटा चीनियाँ विमानहरु ग्राउण्डेड भएका बसेका छन् । सन् १९७२ मा बोइङ ७२७–१०० सेवामा लगाएपछि नेपाल जेट युगमा प्रवेश गरेको थियो । १२३ सिटक्षमताको यस्तो विमान निगमसँग २ वटा थिए र सन् १९९३ सम्म सेवामा संलग्न थिए ।
सन् १९८७ र १९८८ मा दुईवटा बोइङ ७५७–१०० सेवामा लगाइएपछि निगमले अन्तर्राष्ट्रिय उडानमा फड्को मारेको थियो । त्यतिखेर कर्णाली र गण्डकी नाम दिइएका ती विमानहरूमा १९० सिटक्षमता छ । अहिले ती दुईवटा विमान मध्ये एकवटा बोइङ्ग विक्री भैसकेको छ र बिक्री प्रक्रियामा रहेको छ ।
एयसबस ३२०–२०० बाट १५८ सीट भएका २ थान र एयसबस ३३०–२०० दुई थान २७४ सिट क्षमता भएकाबाट अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ । निगमले विगतमा विभिन्न किसिमका प्लेनहरु भाडामा लिएर पनि संचालन गरिएको थियो ।
निगमले पूर्वाञ्चल विकासक्षेत्र अन्तर्गत मोरङको विराटनगर, भोजपुर, लामिडाँडा र थामखर्क, ताप्लेजुङ, तुम्लिङटार, रुम्जाटार र लुक्ला, फाप्लु, ईलाम र काँगिलडाँडामा गरी १० ठाउँमा, मध्यमाञ्चल विकासक्षेत्र अन्तर्गत रामेछाप र भरतपुरमा गरी ३ ठाउँमा तथा पश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत पोखरा, जोमसोम, मनाङ र भैरहवा गरी ४ ठाउँमा विमानसेवा सञ्चालन गर्ने गरेको छ ।
यसै गरी मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत नेपालगञ्ज, सुर्खेत, जुम्ला, दाङ, ताल्चा, सिमिकोट, डोल्पा, रुकुम र चौरजहारी, बाग्लुङ्ग गरी १० ठाउँमा तथा सुदूरपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गते धनगढी, बाजुरा र बझाङ गरी ३ ठाउँमा विमानसेवा सञ्चालन गर्ने गरेको छ । यसरी निगमले मुलुकका हाल २५ ठाउँमा आन्तरिक विमानसेवाको विस्तार गरेको छ ।
यसै गरी निगमले अन्तर्राष्ट्रिय क्षेत्रतर्फ भारतको दिल्ली, मुम्वई, बैंगलोर, चीनको हङकङ र दुबई, कतारको दोहा, साउदी अरवको रियाद, थाइल्यान्डको बैङ्कक, मलेसियाको क्वालालम्पुर, जापानको नारिता गरी कूल १० ठाउँमा आफ्नो विमानसेवाले प्रत्यक्ष रूपमा सेवा पु¥याएको छ ।
निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा पनि उपलब्ध गराएको छ । एयर अरेबिया, एयर चाइना, विमान बङ्गलादेश एयरलाइन्स, चाइना साउदर्न, ड्रागन एयर, ड्रुक एयर, इत्तिहाद एयरवेज, जीएमजी एयरलाइन्स, गल्फ एयर, जेट एयरवेज, जेट लाइट, कोरियन एयर, कतार एयरवेज र सिल्क एयर गरी कूल २० वटा भन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीहरूलाई यो सेवा उपलब्ध गराउने गरेको छ ।
निगमले जहाज संख्यामा वृद्धि गरी र सेवालाई पनि विस्तार गर्ने हो भने राष्ट्रिय ध्वजावाहकको साख बढ्ने र यसबाट नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई मुलुकले आर्थिक समृद्धितर्फ गतिलो फड्को मार्ने निश्चित छ ।