विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब, चालु खातामा साढे ५४ अर्ब घाटा
अखबार टुडे
प्रकाशित:
२०८०, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० वैशाख मसान्तमा १७ दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा २०८० वैशाख मसान्तमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई रु १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा २०८० वैशाख मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । गत वैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चालु खाता साढे ५४ अर्ब घाटामा

यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो ।

वैसाख मसान्तसम्ममा शोधनान्तर स्थिति रू २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।

समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई रू ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ४ अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू १६ अर्ब ६५ करोड थियो ।

गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ (इसीएफ) अन्तर्गत दोस्रो किस्ता वापतको रू ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

प्रतिक्रिया