आठ वर्षपछि खुल्यो तातोपानी नाका
अखबार टुडे
प्रकाशित:
२०८०, १८ बैशाख

काठमाडौं, १८ वैशाख । नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि खुलेको छ । दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् । आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बताए ।

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो ।

चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया