अस्ट्रेलियामा किन मारिन्छन् दुर्लभ ठानिएका लाखौँ कंगारु ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ चैत्र

काठमाडौं, १६ चैत (एजेन्सी) । अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइने दुर्लभ जनावर हो कंगारु । तर अस्ट्रेलियामा हरेक बर्ष लाखौँ कंगारु मारिने गरिन्छ । अस्ट्रेलियाले कंगारु मार्नका लागि कोटा निर्धारण गर्छ भने जग्गा धनीहरूलाई कंगारु मार्ने लाइसेन्स नै प्रदान गर्दछ ।

यस बर्ष पनि अस्ट्रेलियामा ५० लाख कंगारु मारिने भएको छ । त्यहाँको सरकारले न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया, साउथ अस्ट्रेलिया र वेस्टर्न अस्ट्रेलियामा ५० लाख कंगारु मार्न कोटा निर्धारण गरेको हो ।

अस्ट्रेलियाको कंगारु उद्योग संघका अनुसार कंगारुको मासु र छाला बेचेरै अस्ट्रेलियाले वर्षको १ सय ३३ मिलियन अमेरिकी डलर आर्जन गर्छ । अधिकारवादी संस्थाले कंगारु मार्ने कार्यको विरोध गर्दै आएपनि अस्ट्रेलियाको सरकारले भने कंगारुको संख्या अत्यधिक भएकाले त्यसलाई मार्नुबाहेक उपाय नभएको बताउँछन् ।

अस्ट्रेलियाको सरकारी तथ्यांक अनुसार कंगारुको संख्या ३ करोड ६५ लाख रहेको छ । कंगारु धेरै हुँदा यसले मानिसलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, जमिन नै कब्जा गरेर बस्ने र अन्य जनावरहरूलाई पनि मार्ने हुनाले संख्या नियन्त्रण गर्न मार्नुपरेको बताइएको छ ।

खडेरीको समयमा कंगारु आफैँलाई भोकमरीबाट जोगाउन पनि नियमित रूपमा कंगारु मार्न आवश्यक भएको दाबी छ । अस्ट्रेलियाको क्वीन्सल्यान्डको मारुम भन्ने ठाउँ यतिबेला कंगारुको कब्जामै गएको छ ।

त्यहाँ २२० घर छन् तर कंगारुको संख्या बढी भएकाले त्यहाँ उक्त जनावरले मानिसहरूलाई आजित बनाएका छन् । कंगारु खाना खोस्न किचनसम्मै आउने गरेका छन् । यदि मानिसहरू कंगारुको प्रतिकारमा उत्रिए कंगारुले मानिसहरूलाई कुट्ने गरेको पनि बताइएको छ ।

प्रतिक्रिया