यस्तो छ अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास
अखबार टुडे
प्रकाशित:
२०७९, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । हामीले अन्तर्राष्ट्रिय महिला दिवसबारे सञ्चारमाध्यम र आफ्ना साथी भाईले कुराकानी गरेको त सुनेका छौं होला । तर सबैलाई यस दिवसको इतिहास र महत्वका बारेका थाहा नहुन सक्छ । एक शताब्दी अगाडिबाट नै विश्वभर अंग्रेजी महिनाको मार्च ८ लाई महिलाको विशेष दिनको रुपमा मनाउने गरिएको छ ।

सुरुवात
अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलनसँग सम्बन्धित छ । पछि संयुक्त राष्ट्रसंघले मार्च ८ लाई महिला दिवसको मान्यता दिएको हो । सन् १९०८ मा अमेरिकाको न्युयोर्क सिटीमा १५ हजार महिलाहरू एकसाथ आन्दोलनमा उत्रिएका थिए ।

उनीहरूले सडकमा मार्चपास गर्दै काम गर्ने अवधि कम गर्न र महिलालाई पनि राम्रो ज्याला दिनुपर्छ भन्दै नारा लगाएका थिए । त्यसको एक वर्षपछि त्यहाँ सोसलिस्ट पार्टीले पहिलोपटक राष्ट्रिय महिला दिवसको रुपमा घोषणा गरेको थियो । त्यसबेला फेब्रुअरी ८ लाई उनीहरूले महिला दिवस तोकेका थिए ।

यो दिवसलाई अन्तर्राष्ट्रिय रुपमा मनाउनुपर्छ भनेर जोडदार माग गर्ने व्यक्ति क्लारा जेटकिन हुन् । महिला अधिकारकर्मी तथा कम्युनिस्ट अभियन्ता जेटकिनको विचार अन्ततः विश्वव्यापी बनेको हो ।

सन् १९१० मा ‘वर्किङ वुमन इन कोपनहेगन’ अन्तर्राष्ट्रिय सम्मेलनमा उनले महिला दिवस विश्वभर मनाउनुपर्छ भनेर आफ्नो धारणा राखेकी थिइन् । १७ देशबाट सयभन्दा बढी महिला अधिकारकर्मी त्यसबेला सो सम्मेलनमा उपस्थित थिए र उनको सुझावलाई सर्वसम्मतिले सहमति जनाइयो ।

त्यसपछि सन् १९११ पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीजरल्यान्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । पहिला महिला दिवस फरक–फरक दिनमा मनाउने गरिएको पाइएको छ ।

सन् १९१७ मा रुसका महिलाहरूले ‘खाना र शान्ति’ नाराका साथ चार दिनसम्म आन्दोलन गरेका थिए । सो आन्दोलन र दबाबपछि त्यहाँको अस्थायी सरकारले रुसी महिलालाई मत हाल्ने अधिकार दिएको थियो । रुसी जुलियन क्यालेन्डरमा त्यसबेला फेब्रुअरी २३ को समय थियो ।

ग्रिगोरियन क्यालेन्डरअनुसार रुसी महिलाले त्यो अधिकार पाएको दिन भने मार्च ८ थियो । सोही दिनलाई आधार मानेर मार्च ८ लाई महिला दिवसको रुपमा लिने गरेको बीबीसीले जनाएको छ । तर जब सन् १९७५ मा संयुक्त राष्ट्रसंघले पनि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनायो, यो दिवस विश्वभर मनाउन थालियो ।

यस्तै सन् १९९६ बाट हरेक वर्ष महिला दिवस विशेष नाराका साथ मनाउन थालिएको हो । सो वर्ष महिला दिवसको नारा थियो ‘सेलेब्रेटिङ द पास्ट प्लानिङ फर द फ्युचर’ अर्थात् ‘विगतको उत्सव मनाउ, भविष्यका लागि योजना बनाउ ।’

सन् २०२३ अर्थात् यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा भने ‘डिजिटलः इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ अर्थात यसवर्षको नारा लैंगिक समानताको लागि विज्ञान र प्रविधिमा महिलालाई स्थान दिइनुपर्छ भन्ने रहेको छ ।

अहिले विश्वभर यस दिवसका दिन महिलाहरूको योगदानको विषयमा चर्चा गरिन्छ । यसदिन महिला अधिकार तथा सशक्तीकरणका कार्यक्रमहरू आयोजना गरिन्छन् । अदाहरणीय काम गर्ने महिलाहरूलाई यस दिने सम्मान गर्ने गरिन्छ ।

अमेरिकामा मार्च महिनालाई ‘महिला इतिहासको महिना’ भन्ने गरिन्छ । चीनमा यस दिन महिलाहरूलाई पूरा समय काम लगाइँदैन । त्यहाँ पूरा समयको आधा काम गरेपछि छुट्टी दिइन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका दिन विशेषगरी महिलाहरूले बैजनी, हरियो र सेतो कपडा तथा रङहरू लगाउँछन् । बैजनी रङले न्याय र मर्यादालाई दर्शाउने साथै हरियोले आशा र सेतोले पवित्रता इंगित गर्ने इन्टरनेसनल वुमन्स डे वेबसाइटले जनाएको छ ।

के पुरुष दिवस मनाइन्छ ?
हो नोभेम्बर १९ का दिन अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ । यो दिवस सन् १९९० देखि विश्वभर मनाइएता पनि राष्ट्रसंघले यो दिनलाई मान्यता दिएको छैन ।

बीबीसीका अनुसार बेलायतसहित ८० भन्दा बढी देशमा पुरुष दिवस मनाइन्छ । यो दिवसले लैङ्गिक सम्बन्ध सुधार गर्ने उद्देश्य राखेको छ । विश्वमा पुरुषहरूले गरेका राम्रो कामको बारेमा यस दिन चर्चा गरिन्छ । – बीबीसीबाट

प्रतिक्रिया