गगन थापाको उद्घोष- ‘एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराउन लाग्छौं लाग्छौं’
अखबार टुडे
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराएरै छाडने उद्धोष गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजना भएको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले एमालेको राष्ट्रपति उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने बताएका हुन् ।

उनले भने, ‘हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । हराएरै छाड्छौं । कोसिस गछौँ । त्यतातर्फ लाग्छौं लाग्छौं । स्वाभाविक हो नि त । अस्वाविक हो र ? आँखा लगाउलास् भन्नुहुन्छ, आँखै लगाउँछौँ । भोट नै माग्छौँ । फकाउँछौँ । मिलाउने कोसिस गर्छौँ । त्यसलाई मत लिने कोसिस गर्छौँ ।’

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए देशमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरू त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफ्नो पक्षको बनाउन सबै प्रयास गर्ने बताए ।

उनले भने, अहिले नेकपा एमालेले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनी दिए हुन्छ । त्यसले बिस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तार दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतल निवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र एक ठाउँमा गएर ठोकिन्छ । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा नेपाली कांग्रेसले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छ ।’

थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताए । उनले प्रश्न गर्दै भने, ‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो ?’ ।

रास्वपा सभापतिले पत्रकारिता क्षेत्रका विषयमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए । ‘प्रेसले हामीलाई क्वेस्चन सोध्ने ? भनेर हामीले प्रतिशोधपूर्ण रुपमा हेर्न थाल्यौं भने प्रेस र राजनीतिकर्मीका डाइनामिक सम्बन्धहरू बिग्रन्छ । प्रेस स्वतन्त्रता हाम्रा लागि महत्त्वपूर्ण छ ।’

थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताए । उनले भने, ‘प्रेसमा राम्रा अभ्यास पनि छन्, समस्या पनि छन् । २०६२÷०६३ को आन्दोलनमा हामीले प्रेसलाई आठौँ दलको रुपमा पनि भन्थ्यौँ । तर लोकतन्त्रलाई यहाँसम्म ल्याउन नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफ्नोभित्र प्रश्न गरोस्, सुधारहरू पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्याङ्केट डिसक्रेडिट ग¥यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’

प्रतिक्रिया