सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने अनुमान !
अखबार टुडे
प्रकाशित:
२०७९, ६ माघ

काठमाडौं, ५ माघ (एजेन्सी) । सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर जुर्ग किनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस २ हजार ५ सयदेखि ४ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको हो ।

उनका अनुसार सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउनसक्ने सम्भावना रहेको बताउँदै सुनको प्रति औंस ४,००० डलरसम्म पुग्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ ।

उनले भनेका छन्, ‘अर्थतन्त्रहरूले पहिलो त्रैमासिकमा मन्दी सामना गर्न सक्छन्, जसले धेरै केन्द्रीय बैंकहरूले ब्याज दर वृद्धिको गतिलाई सुस्त तुल्याउने र सुनलाई तुरुन्तै थप आकर्षक बनाउनेछ । सुन भनेको सबै केन्द्रीय बैंकको एक मात्र सम्पत्ति हो ।’

काइनरले सन् २०२३ मा सुनको मूल्य १०/२० प्रतिशतको मात्रै वृद्धि नहुने दाबी गरेका छन् । काइनरले सुनको मूल्य प्रतिऔंस ४ हजार डलर पुग्ने प्रक्षेपण स्वीकार गर्न नसकिए पनि धेरैले सुनको मूल्यमा राम्रै वृद्धि देखिने विश्वास गरेका छन् ।

सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ । त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ । अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ । काइनरको प्रक्षेपण अनुसार सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔंस सुनको करिब ५ लाख २० हजार रूपैयाँ पर्न आउँछ ।

यस आधारमा प्रतिग्राम सुनको नेपालमा १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन (११.६६४ ग्राम) को एक लाख ९५ हजार रूपैयाँ पर्न आउँछ । त्यस्तै हाल सुन आयात गर्दा प्रति दस ग्राम आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ ।

सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउनसक्ने सम्भावना बढेकाले सुनको मूल्य बढ्ने अनुमान गरिएको हो । विश्वभरका केन्द्रीय बैंकहरूले नै सुनको खरिददारी बढाइरहेकाले पनि सन् २०२२ मै सूनको मूल्य उच्च दरमा वृद्धि भएको मानिएको छ । सन् २०२२ मार्चमा प्रतिऔंस सुनको मूल्य दुई हजार ७५ डलरसम्म पुगेको थियो ।

भारतको आइसिआइसिआई डाक्रेक्टको रिपोर्टले सन् २०२३ मा पनि केन्द्रीय बैंकहरूबाट सुनको खरिददारी उच्च हुनसक्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएका छन् ।

द वर्ल्ड काउन्सिलका अनुसार अघिल्लो वर्ष सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्ममा मात्रै विश्वभरका केन्द्रीय बैंकहरूले ६ सय ७३ टन सुन खरिद गरेका छन् । चीन र रसियाले सुनको खरिददारी उच्च दरमा बढाएको आशंका गरिएको छ ।

प्रतिक्रिया