बागमतीमा ४ दिनभित्र सरकार गठनको आह्वान
अखबार टुडे
प्रकाशित:
२०७९, २१ पुष

हेटौंडा, २१ पुस । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन् ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ । पछिल्लो चर्चाअनुसार बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भैरहेको छ ।

प्रतिक्रिया