अमेरिकी ड्रोन हमलामा मारिएका अल-कायदाका नेता जवाहिरी को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, १७ श्रावण

काठमाडौं, १७ साउन । अमेरिकी ड्रोन हमलामा अल–कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएकका छन् ।

अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरे ।

अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । बीबीसीका अनुसार उनको परिवारका अन्य सदस्यहरू सँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन् ।

जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बाइडनले बताए । उनले भने, ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन् ।’

अल–कायदा नेता मारिँदा सन् २००१ को आक्रमणबाट पीडितका परिवारहरूलाई न्याय मिलेको महसुस हुने बाइडनले बताए । उनले भने, ‘हामी हाम्रो देश र जनताको रक्षा गर्ने कुरामा कुनै सम्झौता गर्दैनौँ ।’

तर तालिबानका प्रवक्ताले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय मान्यताको स्पष्ट उल्लङ्घन भनेका छन् । ‘यस्ता कदमहरू विगत २० वर्षका असफल अनुभवको पुनरावृत्ति हुन् र यी अमेरिका, अफगानिस्तान र यो क्षेत्रकै हितको विरुद्धमा छन्,’ तालिबान प्रवक्ताले भने ।

सन् २०११ मा ओसामा बिन–लादेन मारिएपछि जवाहिरीले अल–कायदाको नेतृत्व लिएका थिए । सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन–लादेन र उनले संयुक्त रूपमा बनाएका थिए । उनी अमेरिकाको ‘मस्ट वण्टेड’ आतङ्कवादी खोजी सूचीमा थिए ।

जवाहिरी सन् २००० मा १७ अमेरिकी सैनिक मारिने गरी भएको विस्फोट लगायत अन्य हिंसात्मक घटनाका पनि योजनाकार रहेको बताइएको छ ।

नेत्र चिकित्सक रहेका जवाहिरीले इजिप्टमा इस्लामिक जिहाद सैन्य समूह स्थापनामा सहयोग गरेका थिए । तर अमेरिकी सैनिकबाट सन् २०११ मा बिन–लादेन मारिएपछि उनी अल–कायदाको नेतृत्वमा आए ।

कतिपय विज्ञहरूले सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएको शृङ्खलाबद्ध आक्रमण उनकै परिकल्पनामा भएको ठान्ने गरेका छन् ।

सन् १९८०को दशकमा इस्लाम सैन्य गतिविधिमा संलग्न भएको कसुरमा थुनामा परेका यी पूर्व चिकित्सक जेलबाट छुटे लगत्तै देश छोडेर जिहादी अभियानमा सक्रिय भएका थिए ।

पछि उनी अफगानिस्तान पुगेर साउदी अरेबियाका धनाढ्य बिन–लादेनको सङ्गठनमा आबद्ध भए । उनीहरूले संयुक्त रूपमा अमेरिका विरुद्ध युद्धको घोषणा गरेका थिए ।

अल–कायदामा अब नयाँ नेता चुनिने सम्भावना रहे पनि उनको प्रभाव पूर्ववर्तीहरूको भन्दा कमजोर हुने ठानिएको छ ।

प्रतिक्रिया