शंकर पोखरेलको प्रश्न- एमालेले विभाग गठन गर्दा राखेको नाम जोडेर हल्लाखल्ला गर्नुपर्ने विषय हो र ?
अखबार टुडे
प्रकाशित:
२०७९, ४ श्रावण

काठमाडौं, ४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । उनले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका हुन् ।

बुधबार अनलाइन सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलमा उनले भने, ‘एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज छैन ।’

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेको र उक्त नाम राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताइसकेका छन् ।

यसै प्रशंगलाई लिएर बुधबार एमाले महासचिव पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’ कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उनको भनाइ छ ।

गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु रहेको नेता पोखरेलको टिप्पणी छ । उनले भने, ‘पार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ, म विभागको सदस्य होइन, यो विषयमा बहस असान्दिर्भक छ ।’

उनले थपे, ‘एमालेले विभाग गठन गर्दा राखेको नामलाई जोडेर हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? एमालेका विभागमा कति सदस्य छन्, कुनै चासो छ ? कसैले प्रश्न ग¥या छ ? ब्ल्याकलाई ह्वाइट बनाउने योजना असफल भएका कारणले नै हो भन्ने बुझेनौं भने श्रीलंकाकरण हुने जोखिमबाट देशलाई जोगाउन सक्छौं ?’

प्रतिक्रिया