भारतमा एकल प्रयोग हुने प्लाष्टिक उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार (एजेन्सी) । भारतमा एकल प्रयोग हुने प्लाष्टिकका सामान उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ ।

प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोग प्लाष्टिकका बस्तुमा आजदेखि प्रतिबन्ध लगाइएको हो ।

जस्मा थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा ¥यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड, चुरोटको प्याकेटका लागि फिल्म, प्लाष्टिकको झण्डा, बेलुन स्टक र आइसक्रिमका स्टिकहरू छन् ।

प्रतिबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय र प्रदेश स्तरमा कन्ट्रोल रुमहरू स्थापना गरी प्रतिबन्धित एकल प्रयोगका प्लास्टिक वस्तुहरूको अवैध उत्पादन, आयात, वितरण, बिक्री वितरण नियन्त्रण गर्न अधिकारीहरूको टोली खटाइने भएको छ ।

डिसेम्बर ३१, २०२२ सम्म प्लास्टिक बोक्ने झोलाको न्यूनतम मोटाई अवस्थिति ७५ माइक्रोनबाट १२० माइक्रोनमा परिवर्तन गरिने भारत सरकारले बताएको छ । सरकारले प्लाष्टिकको झोलाको मोटाईको मापदण्ड तोकेर खुद्रा बिक्रेताले झोला उपलब्ध गराउन अनिवार्य गरेको छ ।

केन्द्रीय र राज्य प्रदूषण नियन्त्रण प्राधिकरण र साना, सूक्ष्म र मझौला उद्यम मन्त्रालयले प्रतिबन्धित एकल–प्रयोग प्लास्टिक वस्तुहरूको विकल्प उत्पादन गर्न साना औद्योगिक एकाइहरूलाई प्राविधिक सहयोग प्रदान गर्नेछ ।

जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने भएको छ । त्यसैगरी औद्योगिक स्तरमा उत्पादन, पैठारी, भण्डारण र बिक्री गर्नेलाई २० हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

प्रतिक्रिया