अफगानिस्तान भूकम्प: मृतकको संख्या कम्तीमा ९२०, सयौं मानिस घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार

काठमाडौं, ८ असार (एजेन्सी) । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु भएको भने अन्य ६०० जना मानिस घाइते भएका छन् ।

तालिबान सरकारका अधिकारीहरूले भूकम्पका कारण सयौं घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूको उद्धार कार्य भइरहेको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ । अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार मध्यरातपछि आएको उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो ।

केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ । अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया