नेपाली सेनाको ध्यानाकर्षण : भन्यो- एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी गरेका छैनौँ
अखबार टुडे
प्रकाशित:
२०७९, १ असार

काठमाडौं, १ असार । नेपाली सेनाले अमेरिका सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनैपनि सम्झौता वा समझदारी नगरेको स्पष्टीकरण दिएको छ ।

एसपीपीबारे विवाद भइरहँदा ध्यानाकर्षण जनाउँदै सेनाले बुधबार साँझ विज्ञप्ति जारी गरी एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको प्रस्ट पारेको हो ।

यसअघि नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुईपटक निवेदन दिएपछि सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकार गरेको जनाएको थियो ।

‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति र सामरिक संवेदनशीलतालाई प्रतिकूल असर गर्नेगरी कुनैपनि सैनिक साझेदारी भविष्यमा कोहीसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको बेहोरा सम्पूर्ण जनमानस तथा सञ्चारजगतलाई जानकारी गराइन्छ’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गरेको जनाएको थियो । अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरी उक्त अनुरोध स्वीकारेको बताए । अमेरिकी दूतावासले भनेको समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए ।

यो समाचार पनि पढौँ

प्रतिक्रिया