काठमाडौं, २४ जेठ । नेकपा एमाका सांसद लालबहादुर थापाले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामाको माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद थापाले निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको भन्दै राजीनामा मागेका हुन् ।
बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन गर्न लागिएको हो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।
उनले भने, ‘उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेकाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायत दुई जना आयुक्तहरुको सभामुख मार्फत् राजीनामा माग गर्दछु ।’
यही सन्दर्भमा उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग राखे । थापाले प्रचलित कानुन बमोजिम नै बूढीगंगामा मतदान भएको भन्दै पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्नुपर्ने माग गरे ।