कान्समा पहिलोपटक नेपाली फिल्मले जित्यो अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । विश्वकै ठूलो फिल्म फेस्टिबलमध्ये कान्समा पहिलोपटक नेपाली फिल्मले अवार्ड पाएको छ । ७५औँ कान्समा लघु चलचित्र विधामा नेपाली चलचित्र ‘लोरी’ले अवार्ड जितेको हो ।

अविनाशविक्रम शाह निर्देशित नेपाली लघु चलचित्र ‘लोरी’ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हुन् । फेस्टिभल डे कान्समा पहिलो पटक मुख्य प्रतिस्पर्धाको विधामा नेपाली चलचित्र प्रदर्शन गरिएको हो ।

‘चौकठ’जस्ता केही नेपाली चलचित्रले विगतका संस्करणहरूमा कान्स फेस्टिभलको स्क्रिनिङ एण्ड एक्जिबिसन’ विधामा स्थान बनाएपनि मुख्य प्रतिस्पर्धाको विधामा शाहको ‘लोरी: मेलान्कोली अफ माई मदर्स लुलेबिज’ देशकै पहिलो चलचित्र हो ।

शाहको ‘लोरी: मेलान्कोली अफ माइ मदर्स लुलेबिज’ यस वर्ष कान्स फेस्टिभलको ७५औँ संस्करणमा सर्ट फिल्म पाल्मे डी’ओर विधाका लागि छनोट भएका नौ सर्ट फिल्ममध्येमा परेको हो ।

यस वर्ष आफ्नो ७५औँ वार्षिकोत्सव मनाउन लागिएको कान्स फेस्टिभलमा १४० देशका ३ हजार ५०७ एन्ट्रीबाट छनोट भएको ‘लोरी’ पहिलो नेपाली चलचित्र हो । १४ मिनेटको यो चलचित्रले नेपालमा पितृसत्तात्मक समाज अन्तर्गत रहेका सामाजिक विकृतिहरूको खोजी गर्दछ ।

प्रतिक्रिया