गाडी आयात रोकौँ, इन्डक्शन चुल्होमा सहुलियत, जोर-बिजोर प्रणाली, पेट्रोलियम आयातलाई सीमित राखौँ: राष्ट्र बैंक
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन सरकारलाई विभिन्न सुझाव दिनुका साथै विभिन्न वस्तुको आयातमा पनि रोक लगाएको छ ।

राष्ट्र बैंकले काठमाण्डौ उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने, काठमाण्डौ उपत्यकाभित्रका सबै सरकारी र सार्वजनिक कार्यालय सञ्चालन हुने समय एक घण्टा थपेर हप्ताको पाँच दिन मात्रै खुलाउने, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा भन्सारसहितका कर बढाएर आयातमा निरुत्साहित गर्ने र विद्यमान अवस्था सुधार नभएसम्मका लागि कम्तीमा आउँदो असारसम्म आयातमा पूर्ण रोक लगाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

यस्तै आयल निगमले पेट्रोलियम पदार्थको आयातलाई मासिक १२ देखि १३ अर्ब रुपैयाँमै सीमित गर्नुपर्ने, विद्युतको घरेलु उपयोग बढाउन महसुल घटाउने र विद्युतीय चुल्हो र उपकरण आयातमा सहुलियत दिएर एलपी ग्यासमा दिँदै आएको अनुदान हटाउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।

यस्तै राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तु आयातका लागि कर्जा नदिने, उच्च मूल्यका टीभी, मोबाइल, रक्सी लगायतको आयातलाई भन्सार शुल्क बढाएर निरुत्साहित गर्ने, पर्यटकको भिसा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता शुल्क अनलाइनबाटै तिर्ने व्यवस्था मिलाउने, विगतमा स्थगित भएको नेपाल भ्रमण वर्षका गतिविधि बढाउने, रेमिट्यान्स पठाउने र पाउने प्रक्रिया सहज र सरल बनाउने लगायतका सुझाव दिएको छ ।

यस्तै, राष्ट्र बैंकले विभिन्न वस्तको आयातमा कडाइ पनि गरेको छ । र, त्यस्ता वस्तुको आयातमा कडाइ गरेसँगै केन्द्रीय बैंकले प्रतितपत्र नखोल्नसमेत निर्देशन दिएको छ । बैंकका अनुसार आयातमा कडाइ गरिएका वस्तुमा गाडी, सुनमात्र नभई दैनिक उपभोग गरिने वस्तु पनि रहेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार अब वाणिज्य बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि प्रतितपत्र खोल्ने छैनन् ।

त्यस्तै परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन् ।

यसबाहेक अब ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात नहुने भएको छ । यसबाहेक माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको पनि बैंकले प्रतितपत्र खोल्ने छैनन् ।

प्रतिक्रिया