आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पूटिनको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १५ फाल्गुन

काठमाडौं, १५ फागुन (एजेन्सी) । पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिएका छन् ।

यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समय पूटिनको आदेशले थप संसूचक उत्पन्न गर्ने अनुमान गरिएको छ । मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ ।

पुटिनले टेलिभिजन सम्बोधनमा भने, ‘म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु । तपाईंले देख्नुभयो कि पश्चिमी देशहरू आर्थिक क्षेत्रमा हाम्रो देशप्रति अमित्रवत मात्र छैनन् । मेरो मतलब रूसमाथि उनीहरूले लगाएको प्रतिबन्ध अवैध हो,’ ।
उनले थप भने, ‘उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो) का सदस्य मुलुकका वरिष्ठ अधिकारीहरूले पनि हाम्रो देशविरुद्ध आक्रामक बयान दिन अनुमति दिन्छन् ।’ उनको आग्रहलाई रक्षा मन्त्री शोइगुले ‘सकारात्मक’ भनी समर्थन जनाएका थिए ।

पश्चिमी स्रोतहरूका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन् । यद्यपि युक्रेनी सेनाको तीव्र प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन् जसको तीव्रताले सम्भवतः मस्कोलाई सोच्न बाध्य पारेको छ । यूक्रेनका अधिकारीहरूले केही रूसी सेनाहरू निरुत्साहीे र थकित भएका र दर्जनौंले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

७० हजार यूक्रेनी विदेशी शरणमा
रूसी आक्रमणपछि दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा ३ लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् । यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म यूक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ । पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।

यूक्रेनद्वारा रूसविरुद्ध अन्तरराष्ट्रिय अदालतमा मुद्दा दर्ता
यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठह¥याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।’

क्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको छ । आक्रामण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठह¥याउन यूक्रेनले माग गरेको छ ।

प्रतिक्रिया