चर्चामा प्रमोद र रुक्सनाको नोगेन : आखिर विवाद किन ?
अखबार टुडे
प्रकाशित:
२०७८, २८ माघ
  • एमपी सुब्बा

काठमाडौं, २८ माघ । ‘भ्वाइस अफ किड्स नेपाल’मा फाइलनसम्म पुगेकी रुक्सना लिम्बू यतिखेर चर्चामा छिन् । उनका हातमा एकसेएक गीतहरु आइरहेका छन् । बरु, ‘भ्वाइस अफ किड्स’ विजेता कता, के गर्दैछन् ? अत्तोपत्तो छैन । तर, रुक्सना र अर्की फाइनालिस्ट पेमा चर्चामा छन् ।

चर्चामा आइरहेकै बेला रुक्सनाले प्रमोद खरेलसँग एउटा गीत गाइन्, ‘नोगेन’ । जुन गीत युट्युबमा लगातार ट्रेण्डिङमा आयो । यसैबेला उक्त गीतका संगीतकार महेश खड्कामाथि संगीत चोरीको आरोप लाग्यो । चोरीको आरोप लगाउने कोही नभएर चर्चित संगीतकार वसन्त सापकोटा हुन् । जो महेशका मिल्ने साथी पनि हुन् ।

वसन्तले आफूले संगीत गरेको फिल्म ‘सिलसिला’को ‘सागर सरी’सँग ‘नोगेन’ मेल खाएको भन्दै चोरीको आरोप लगाए । तर, गीत सुन्दा खाशै मिल्दैन । त्यो दर्शक तथा श्रोतालाई पनि थाहा हुन सक्छ ।

यस्तै, संगीतकार महेशले पनि आफूमाथि लागेको चोरीको आरोपमाथि खण्डन गरेका छन् । उनले आफूमाथि लगाएको संगीत चोरीको आरोप निराधार भएको बताएका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले गीत चोरेको प्रमाणित नभए कानुनी बाटो रोज्नेसमेत बताए । गीत चोरीको आरोपमा कानुनी उपचार खोज्ने धेरै बाटो छाडेर संगीतकार वसन्त सापकोटाले मिडियाबाजी गरेको महेशको आरोप छ ।

उनले संगीतकार सापकोटाको गीतमा पनि केही कर्ड मिल्ने त्यस्ता धेरै गीत रहेको दाबी गर्दै भने, ‘उहाँले मलाई चोरीको आरोप लगाएपछि मलाई धेरै म्यासेज आएका छन् जसमा अग्रज स्रष्टाका गीतसँग उहाँका मिलेका गीतहरूको बारेमा छन्,उहाँको गीतको तीन वटा नोट मेरै गीतसँग मिलेको छ के अब मैले उहाँलाई चोरीको आरोप लगाउने ?’

संगीतकार सापकोटाले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको दाबी गर्दै कानुनी उपचार खोज्ने बताएका छन् । अनुमानको आधारमा आफ्नो ३० वर्षको मेहनत र करियर सिध्याउने प्रयत्न भएको उनको बुझाइ छ ।

उनले भने, ‘उहाँलाई चर्चाको आवश्यकताले यो आरोप लगाउनुभएको छ । उहाँजस्तो मान्छेलाई अहिले किन चर्चाको खाँचो प¥यो । यदि उहाँले मैले गीत चोरेको प्रमाणित गर्नुभएन भने मैले कानुनी उपचार खोज्नुपर्ने हुन्छ । यो विषयमा मेरो मानहानी भएको छ । म कानुनी बाटोमा जानुपर्छ मैले ३० वर्ष लगाएर कमाएको ख्यातिको अपमान भएको छ ।’

संगीतकार सापकोटाले नाेगेनमा संगीतकारको नाममा संयुक्त नाम राख्नुपर्ने माग गरेका छन । त्यसप्रति संगीकार महेशले कटाक्ष गर्दै भने, ‘यदि वसन्त सापकोटाले अब म गीत गाउन सक्दिनँ, मलाई नाम चाहियो भनेर भने मैले उनको नाम मेरो गीतमा राख्न तयार छु ।’

यसरी एउटा गीत विवादमा आइरहँदा दर्शककै चित्त बुझेको छ्रैन । जो संगीतकार महेश र वसन्तका पनि फ्यान हुन् । उनीहरु भन्छन्, ‘संगीत क्षेत्रकै हस्ती मानिएका दुई संगीकारबीच भइरहेको आरोप प्रत्यारोप नेपाली संगीत क्षेत्रकै लागि अनुपादक हुनसक्छ ।’

प्रतिक्रिया