किन हो खै कुन्नी बान्तुले सुरुमै सुनाए, ‘घात भयो जिन्दगी’
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

काठमाडौं । साँझपख पुस महिनाको चिसो बढ्दै थियो । शनिबार साँझ, राजधानीको पाँच तारे होटल शंकर परिसर भने कवि, कलाकार तथा समाजसेवीले तात्दैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो-

‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । समुद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारे ।

उनले भने– ‘माझ किरातको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ ।’

त्यसपछि कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कविता÷काव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याइन् । हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर ।
त्यसपछि कविता सुनाउन सुरु गरे-

‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । त्यसपछि उनले गजल सुनाए– नजरैले घाइते पर्ना माहिर हजुर’ । प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाएका उनले मनको भावना सुनाए गजलमै । त्यसपछि आफ्नै जिन्दगीका बारे रचना गरिएको गजल– ए जिन्दगी सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता÷काव्य प्रस्तुतिको मैझारो गरे । दशकदीर्घाबाट आएको ‘वान्समोर…वान्समोर’लाई स्वीकार गर्दै पुनः सुनाए- ‘मेरी प्रिय कविता ।’

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे । उनले भने– ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।’

कार्यक्रममा पूर्वमन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन्स अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरेका थिए ।

गीतकार तथा कवि बान्तु पछिल्लो समय साहित्य सिर्जनामा चर्चामा छन् । उनी आफूजस्तै श्रृँगारिक कविता सिर्जना गर्छन् र पाठक तथा श्रोतालाई रनभूल्ल बनाउँछन् । तर, खै कुन्नी यसपटक उनले सुरुमै सुनाए-

‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

प्रतिक्रिया