कांग्रेस महाधिवेशन : पहिलो चरणमै जित्ने सभापतिका उम्मेदवारहरुको जिकिर, नजिते के हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवारहरुले पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् ।

सोमबार मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गरे । उनले यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए ।

यस्तै, अर्का सभापतिका उम्मेदवार बिमलेन्द्र निधिले पनि आफूले जित्ने प्रवल सम्भावना रहेको बताए । १३औँ महाधिवेशनमा सभापतिको लागि अरुलाई मतदान गरेपनि यस पटक सभापतिमा आफैँले आफूलाई मतदान गर्न पाएकोमा उत्साह खुसी व्यक्त गरे । उनले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सम्वृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।

भृकुटीमण्डमा जारी मतदानपछि पत्रकारसँग कुरा गर्दै उपसभातिका उम्मेदवार विजयकुमार गच्छदारले पार्टी सभापतिमा पहिलो चरणमै प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति जित्ने दाबी गरे ।

यदि पहिलो चरणमा देउवाले नजितेमा दोस्रो चरणमा पराजित हुने खतरा रहेको छ । सभापतिका उम्मेदवार निधिले आफूले पहिलो चरणमा नजिते दोस्रो चरणमा जित्ने दावी गर्दै आएका छन् । त्यस्तै, अर्को सभापतिका उम्मेदवार शेखर कोइरालाले पनि दोस्रो चरणका आफूले जित्ने बताइरहेका छन् ।

तर, गृहमन्त्री तथा केन्द्रिय सदस्यका उम्मेदवार बालकृष्ण खाँडले प्रधानमन्त्री देउवाले पहिलो चरणमै पार्टी सभापतिमा जित्ने जिकिर गरे । ‘सभापतिमा उहाँले जित्ने धेरै आधार छन्’ उनले भने, ‘पहिलो प्यानल बलियो छ र दोस्रो नेता कृष्णप्रसाद सिटौलाको समूह उहाँसँगै छ ।’
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

प्रतिक्रिया