‘चीनले ताइवानलाई पनि हङकङजस्तै एक देश दुई प्रणालीअन्तर्गत एकीकरण गर्न चाहन्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, २३ आश्विन

काठमाडौं, २३ असोज । चीनका राष्ट्रपति सी जिनपिङले एक मन्तव्यका क्रममा ताइवानसँगको ‘पुनः एकीकरण’ पूरा गर्न बाँकी रहेको बताएका छन् । चिनियाँसँग पृथक्तावादको विरोध गर्ने ‘गौरवशाली परम्परा’ रहेको चेतावनी दिँदै उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति सीको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको छ । ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्छ तर चीनले भने उसलाई आफ्नो विद्रोही प्रान्तका रूपमा हेर्छ । बेइजिङले एकता प्राप्तिका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई अस्वीकार गरेको छैन । गत हप्ता चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा झन्डै १५० सैन्य विमानहरू उडाएको विभिन्न मिडियाले जनाएको थियो ।

‘मातृभूमिको पूर्ण एकीकरण गर्ने कार्य पूरा हुनुपर्छ र निश्चित रूपमा त्यो पूरा हुने छ’ राष्ट्रपति सीले भने । उनले आफूले शान्तिपूर्ण रूपमा हङकङमा जस्तै ताइवानलाई ‘एक देश दुई प्रणाली’ अन्तर्गत एकीकरण देख्न चाहेको बताएका छन् । तर ताइवानको राष्ट्रपति कार्यालयले भने एक देश दुई प्रणाली अस्वीकार गर्ने विषयमा ताइवानका जनता स्पष्ट रहेको जनाएको छ ।

उसले बेइजिङलाई ‘उक्साहटपूर्ण हस्तक्षेप, उत्पीडन र विनाशकारी कदमहरू’ त्याग्न आग्रह गरेको छ । पछिल्ला हप्ताहरूमा दुई देशबीच तनाव चुलिएको भए पनि चीन–ताइवान सम्बन्ध सन् १९९६ मा जस्तो बिग्रिएको छैन । त्यस बेला चीनले क्षेप्यास्त्रको परीक्षण गर्दै ताइवानको राष्ट्रपतीय निर्वाचन बिथोल्ने प्रयास गरेको थियो ।

अमेरिकाले चीनलाई रोक्नका लागि उक्त क्षेत्रमा विमानवाहक जहाजहरू पठाएको थियो । र, कैयौँ पश्चिमा राष्ट्रहरूले चीनको सैन्य क्षमता प्रदर्शनबारे चिन्ता व्यक्त गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले सी ‘ताइवान सम्झौता’ मान्न सहमत भएको जनाएका छन् ।

बाइडनले अमेरिकाको ’एक चीन नीति’लाई सङ्केत गर्दै त्यसो भनेको अनुमान गरिएको छ । सो नीतिले अमेरिकाले राष्ट्रको रूपमा चीनलाई मात्रै स्वीकार गरे पनि ताइवानसँग ’गहन अनौपचारिक सम्बन्ध’ राख्न दिन्छ । ताइवानलाई चीनको प्रान्त मान्ने एक चीन अवधारण भने बाइडनले संकेत गरेको नीतिभन्दा फरक हो । (बिबिसी)

प्रतिक्रिया