उत्तर कोरियासँग के-कति हतियार ?
अखबार टुडे
प्रकाशित:
२०७८, १८ आश्विन

काठमाडौं, १८ असोज (एजेन्सी) । उत्तर कोरियाले गत मंगलबार ह्वासङ–८’ नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको थियो । लगतै, गएको बिहिबार आफ्नो ‘एन्टी एयरक्राफ्ट’ नामक नयाँ मिसाइल परीक्षण गरेको थियो ।
ह्वासङ्–८ नाम दिइएको हाइपरसोनिक क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका ’महत्त्वपूर्ण पाँच हतियार’ प्रणालीमध्ये एक भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । यो नायँ प्रविधिको रहेको र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ ।
यस्तै, नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको देशको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ । एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको छ ।
यसअघि ज्यानुअरीमा पनि उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो जसलाई उसले विश्वको सबैभन्दा शक्तिशाली अस्त्र दाबी गरेको थियो । सो हतियारको क्षमता अज्ञात छ र त्यो परीक्षण गरिएको वा नगरिएको भन्ने स्पष्ट छैन ।
हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ । उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँछ ।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले चुनौती दिँदै यी कामहरु निरन्तर रुपमा गर्दै आएको छ । आर्थिक नाकाबन्दीका बीचमा पनि उत्तर कोरियाले आफ्नो अस्त्र क्षमतामा उल्लेख्य वृद्धि गरेको छ ।
कस्ता र कति हतियार छन् ?
अमेरिका पुग्ने क्षेप्यास्त्र
सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रहरूले उनको सैन्य प्रविधिमा भएको विकास देखाएका थिए । ह्वासाङ–१२ क्षेप्यास्त्र ४,५०० किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापूमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो । पछि ह्वासाङ–१४ अझ शक्तिशाली भएको देखियो जसले ८,००० किलोमिटर मार हान्ने र अधिकतम १०,००० किलोमिटरसम्म पुग्ने बताइएको थियो । त्यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र बन्यो जुन न्यूयोर्कसम्म पुग्न सक्छ ।

ह्वासाङ–१५ परीक्षण गर्दा ४,५०० किलोमिटर माथि पुग्ने बताइयो । यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो । जमिनमा प्रहार गर्दा यो १३,००० किलोमिटरसम्म पर पुग्न सक्छ जसको अर्थ अमेरिकाको कुनै पनि स्थानसम्म पुग्न सक्ने क्षमता हो । सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक ग¥यो। परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पारमाणविक अस्त्र बोक्न सक्ने बताइएको छ । यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो ।

मार्चमा उत्तर कोरियाले २,५०० किलो हतियार बोक्न सक्ने नयाँ क्षेप्यास्त्र बनाएको बतायो । यसको अर्थ यसले पारमाणविक हतियार बोक्न सक्छ भन्ने हुन्छ । हालै परीक्षण गरिएको सीधा बाटो नजाने लामो दूरीका क्रूज क्षेप्यास्त्रले रक्षा प्रणालीलाई चुनौती थप्न सक्ने बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घिय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षेप्यास्त्र परीक्षण गर्न रोक लगाएको छैन । मङ्गलवार परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रको भने गति तीव्र छ ।

थर्कोन्यूक्लीयर बमहरू
सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पारमाणविक परीक्षण ग¥यो । सो उपकरणको विस्फोटन शक्ति १०० देखि ३७० किलोटनको रहेको छ । १०० किलोटनको बम हिरोशिमामा सन् १९४५ खसालिएको बमभन्दा छ गुणा शक्तिशाली हुन्छ ।
उत्तर कोरियाले त्यसलाई आफ्नो पहिलो थर्मोन्यूक्लीयर हतियार परीक्षण भएको दाबी गरेको छ । थर्मोन्यूक्लीयर हतियारलाई परमाणुले विस्फोटन गरेपछि पुनः अर्को विस्फोटन गराई झन् ठूलो विस्फोट हुन बनाइन्छ । सन् २०१८ को एप्रिलमा उत्तर कोरियाले आफ्नो क्षमता पुष्टि भएकोले पारमाणविक परीक्षण रोक्ने बताएको थियो ।
उसले आफ्नो परमाणु अस्त्र परीक्षण स्थल ध्वस्त पार्ने बताउँदै केही विदेशी पत्रकारको उपस्थितिमा केही पूर्वाधारहरू ध्वस्त बनाएको थियो। तर सो बेला अन्तर्राष्ट्रिय विज्ञहरू भने त्यहाँ उपस्थित थिएनन् ।

सो वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सञ्चार सम्पर्कपछि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम चलाउने सबै पूर्वाधार बन्द गर्ने बताएको थियो। तर ट्रम्प र किम जङ–अनको वार्ता उपलब्धिमूलक भएन । अगस्टमा संयुक्त राष्ट्रसङ्घीय इन्टर्न्याश्नल एटोमिक इनर्जी एजेन्सीले उत्तर कोरियाले परमाणु कार्यक्रम स्थल पुनः चलाउन थालेको बताएको थियो । सेप्टेम्बरमा उनले त्यहाँको पारमाणविक कार्यक्रम पूर्ण मात्रामा सञ्चालनमा रहेको बताएको थियो ।

लाखौँ सैनिक
उत्तर कोरियाको विशाल सैनिक सङ्ख्या छ । त्यहाँ १० लाखभन्दा बढी सैनिक र थप छ लाख रिजर्भ सैनिक रहेका मानिन्छ । उसका धेरै अस्त्र पुराना र काम नलाग्ने भए पनि युद्धको अवस्थामा कुल छ लाख सेना रहेको दक्षिण कोरियालाई सङ्ख्याकै कारण ठूलो क्षति पु¥याउन सक्ने मानिन्छ ।
अर्को खतरा सीमामा राखिएका ३१ हजारभन्दा बढी रकेट लन्चर जस्ता हतियार हुन् जसले ६० किलोमिटरको दूरीमा रहेका सोललाई खतरामा पार्न सक्छन् । सन् २०१२ मा दक्षिण कोरियाले उत्तर कोरियासँग २,५०० देखि ५,००० टन रासायनिक हतियार रहेको अनुमान गरेको थियो जुन सम्भवतः संसारकै सबैभन्दा ठूलो मौज्दात हो । उत्तर कोरियामा जैविक हतियार कार्यक्रम पनि चलिरहेको हुन सक्ने बताइन्छ ।

प्रतिक्रिया