अशान्त म्यान्मार : प्रदर्शनकारीले सामाजिक सञ्जाललाई कसरी उपयोग गरिरहेका छन् ?
अखबार टुडे
प्रकाशित:
२०७७, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । म्यान्मारको यांगुनमा अशान्त छ । तर, त्यहाँका युवा काँधमा काँध मिलाएर उभिएका छन् । युवा प्रदर्शनकारीको एउटा समूहले सडक बन्द गरेको छ ।
हेर्दा निकै अशान्त तर जोश उही छ । केहीले सेतो कडा टोप लगाएका छन् । अन्यले साइकलको हेलमेट लगाएका छन् । उनीहरूले आफूलाई सुरक्षित राख्न घरेलु ढाल, चस्मा र अनुहार छोप्ने मास्क लगाएका छन् । तर उनीहरूको एउटा रक्षात्मक उपकरण यस्तो छ, जुन अरूभन्दा धेरै प्रयोग भएको छ, मोबाइल फोन ।

Myanmar

फेब्रुअरी १ मा सैनिक ‘कू’ भएयता संसारले म्यान्मारमा प्रदर्शनकारीमाथि देखाइएको बर्बरतालाई हेरेको छ । गत बुधबार एकैदिन कम्तीमा ३८ जना मारिएको घटनालाई संयुक्त राष्ट्रसंघले म्यान्मारको ‘कू’यता सबैभन्दा रक्तपातपूर्ण दिन भनेको छ । हुन पनि सेनाले त्यहाँ प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएका छ । म्यान्मारमा के भइरहेछ भनेर संसारलाई देखाउन खोज्ने त्यहाँका मानिसहरूले सामाजिक सञ्जालमा लाखौँ भिडिओ हालेका छन् । कतिपय बासिन्दाले घरबाटै लुकेर भिडिओ खिच्ने तरिका पत्ता लगाएका छन् । अन्यले खुला रूपमा सडकमै विरोध प्रदर्शनको भिडिओ खिचिरहेका छन् ।
‘के मलाई डर लागेको छैन ? छ, म डराएकी छु । तर, हामी हाम्रो स्वतन्त्रता प्राप्त गर्न लड्नेछौँ’ एक युवतीले अस्थायी नाकाको अर्कोतर्फ रहेका एक सैन्य अधिकारीलाई चिच्याएर भनिन् । ‘मारिएकाहरूका लागि म तिमीहरूलाई कहिल्यै माफ दिनेछैन। म नमरेसम्म माफ दिने छैन’ आँखाबाट झर्न लागेका आँसु रोक्दै उनी चिच्याइन् ।
एक २३ वर्षीया महिला र एक सैनिक अधिकारीबीचको यो शक्तिशाली संवाद भिडिओमा कैद गरेर सामाजिक सञ्जालमा हाल्ने स्थानीय पत्रकार आए मिन थान्ट हुन् । लाखौँ पटक हेरिएको यो छोटो भिडिओ म्यान्मारका आमनागरिकको आवाज बुलन्द पार्न सामाजिक सञ्जालले खेलिरहेको भूमिकाको एउटा उदाहरण हो ।

Myanmar


सैनिकको भिडिओ खिच्ने पक्राउ पर्छन् वा हमलामा पर्छन् वा यसका लागि ज्यानै गुमाउन पनि सक्छन् । तर प्रदर्शनकारीहरू यो जोखिम मोल्नु आवश्यक रहेको बताउँछन् ।
सैनिकले गोली हानेको, अश्रुग्यास प्रयोग गरेको र बर्बरतापूर्वक कुटेका भिडिओहरू त्यहाँ भइरहेको मानव अधिकार हननका प्रमाण हुन् । युवा वर्गले आफ्नो डिजिटल अभियानको मद्दतले सैन्यशासनविरुद्ध राष्ट्रसंघ र अन्तर्राष्ट्रिय नेताहरूले बोल्ने र कारबाही गर्ने अपेक्षा गरेका छन् । तर कसैले नसुन्ने र मोबाइलमा रेकर्ड गर्न गरिएका दुःखहरू खेर जाने डर पनि छ । यसअघि म्यान्मारमा भएका संघर्षका दाँजोमा यस पटकका कुराहरू दस्ताबेज राख्न सामाजिक सञ्जाल सबैभन्दा अगाडि छ ।
म्यान्मारका नयाँ पुस्ताका युवाहरू प्रविधिमैत्री छन् र उनीहरू सचेतना छर्न एवम् आन्दोलन अगाडि बढाउन अनलाइन सञ्चार प्रयोग गरिरहेका छन् ।
‘तिमीले गलत पुस्तासँग निहुँ खोज्यौं’ भन्ने नारा डिजिटल उपकरणलाई प्रयोग गरेर विरोध प्रदर्शन अभियान गरिरहेका युवा पुस्तामाझ लोकप्रिय वाक्य बनेको छ । यो वाक्य युवा वर्गले सडकमा तीन औँला देखाएर सलाम गर्दै गर्ने विरोधको नारा पनि बनेको छ । तर ती युवा वर्ग पनि मिथ्या सूचना फैलिने डरले चिन्तित छन् ।
म्यान्मारमा नागरिकहरूले एक क्षण पनि मिथ्या वा सही भन्ने विचार नगरी तस्बिर र भिडिओहरू व्यापक शेयर गरिरहेका छन् । अर्को चिन्ताको विषय सैनिकले बिहान १ बजेदेखि ९ बजेसम्म बन्द गर्ने इन्टरनेट हो । इन्टरनेट प्रतिबन्धले देशभरि धेरैलाई आक्रोशित बनाएको छ । स्थानीय नागरिकहरू इन्टरनेट बन्द गरेर सैनिकले अपराध गरिरहेको र ठूलो संख्यामा पक्राउ गरिरहेको आरोप लगाउँछन् ।
इन्टरनेट बन्दले देशभरि बोली बन्द गरेको छ । तर बिहान इन्टरनेट खुल्नेबित्तिकै नागरिक पत्रकार र डिजिटल अभियानकर्मीहरू आराम नखोजी आफ्नो आवाज संसारलाई सुनाउन दत्तचित्त दैनिक काममा जुट्छन् । (बिबिसीबाट)

प्रतिक्रिया