समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान
अखबार टुडे
प्रकाशित:
२०७७, ३० कार्तिक

काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए ।
सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् । उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गरे ।
‘एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ’ उनले सन्देशमा भन्नु भएको छ, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।’
शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ । नेपाल सम्वत्को यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्नु भएको छ ।

प्रतिक्रिया