
काठमाडौं । नेपालमा सौन्दर्य प्रसाधनको क्षेत्रमा लामो समयदेखि लोकप्रिय प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’को आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारीलाई सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो।
कार्यक्रमको उद्घाटन एसएमके इन्टरप्राइजेजका अध्यक्ष विश्व केसी र कम्पनीका सबैभन्दा पुराना वितरक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए। उद्घाटनपश्चात् उपस्थित सम्पूर्ण वितरकहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। सो अवसरमा औपचारिक स्वागत मन्तव्य राख्दै कम्पनीका निर्देशक मणिकर्ण के।सी।ले आगामी वर्ष थप उचाईमा पुग्ने कम्पनीको लक्ष्य रहेको बताएका थिए।
कार्यक्रममा कम्पनीका कन्ट्री म्यानेजर रमेश उप्रेतीले यस वर्ष कम्पनीले हासिल गरेको अभूतपूर्व सफलता, समग्र सेल्स फिगर र प्रगतिको विवरण प्रस्तुत गरेका थिए। ग्राहकहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै अध्यक्ष विश्व केसी, निर्देशक मणिकर्ण केसी र कन्ट्री म्यानेजर उप्रेतीले संयुक्त रूपमा कलर एसेन्सको नयाँ स्किन केयर उत्पादन ‘ब्राइट एन्ड लाइट सनस्क्रिन सार्वजनिक गरेका थिए। यस नयाँ उत्पादनले छालालाई भित्रैदेखि हाइड्रेट गर्ने र प्राकृतिक चमक दिने कम्पनीले जनाएको छ। कार्यक्रममा वितरकहरूको जिज्ञासा समाधान र अनुभव आदानप्रदानका लागि अन्तरक्रिया सत्र समेत सञ्चालन गरिएको थियो।
वर्षभरि अहोरात्र खटेर कम्पनीलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट जनशक्तिलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं लेजेन्डरी गायक शम्भु राई र कार्यक्रमका सभापति विश्व के।सी।ले संयुक्त रूपमा ‘बेस्ट स्टाफ अफ द इयर’ अन्तर्गत ४ जना टीएसआई र २ जना टीएसओका साथै ‘बेस्ट डिस्ट्रिब्युटर अफ द इयर’ अन्तर्गत ३ जना उत्कृष्ट वितरकलाई अवार्ड वितरण गरेका थिए।
कार्यक्रमका सभापति तथा अध्यक्ष विश्व केसीले कम्पनीको आगामी दिशा, बजारको अवस्था र भावी योजनाबारे आफ्नो मन्तव्य राख्दै औपचारिक सत्रको समापन गरेका थिए। सञ्चालक जीवन पराजुलीले सहजीकरण गरेको उक्त कार्यक्रमको अन्त्यमा सांगीतिक माहोल सिर्जना गरिएको थियो। जसमा गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा सुपरहिट गीतहरू प्रस्तुत गर्दै उपस्थित वितरक तथा अतिथिहरूलाई भरपुर सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए।
उक्त कार्यक्रममा अग्रज सङ्गीतकार तथा गायक शम्भू राई आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी, अहिलेकी चर्चित गायिका बिन्दु परियारले आफ्ना डान्सिङ सुपरहिट गीतहरू प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण दर्शकलाई झुमाएर मनोरञ्जन दिएकी थिइन्।
