बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने- ओली र लेखक पक्राउविरुद्ध सर्वोच्च अदालत जान्छौँ
अखबार टुडे
प्रकाशित:
२०८२, १४ चैत्र

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।

जेन–जी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नुपहिले ओलीले वरिष्ठ अधिवक्ता भट्टराई लगायतका कानुनव्यवसायीसँग छलफल गरेका थिए । ‘उहाँ (ओली)ले कानुनी लडाइँ लड्ने हो, तयारी गर्नुस् भन्नुभएको छ,’ भट्टराईले भने, ‘भ्याएसम्म भोलि नै ओली र लेखकको तर्फबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जान्छौं ।’

कार्की आयोगले लापरबाही र हेलचेक्राइँका कारण जेन–जी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।

त्यस्तै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध हेलचक्य्राइँअन्तर्गत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको सिफारिसमध्ये सुरक्षाकर्मीहरू जोडिएको विषयमा अध्ययन गर्न कार्यदल बनाउने तथा बाँकीका हकमा तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रहरीले जरूरी पक्राउपूर्जी दिएर शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया